राधा लुइटेल
फिदिम, माघ १८ गते । फिदिममा आयोजित अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले हात पार्न सफल भएको छ । जिल्ला क्रिकेट सङ्घ पाँचथरको आयोजनामा भएको सम्पन्न प्रतियोगिताको फाइनल खेलमा फिदिम माविलाई ४८ रनले पराजित गर्दै नयाँ नमुना मावि उपाधि विजेता बनेको हो ।
प्रतियोगिताको विजेता नयाँ नमुना माविले नगर १० हजार नगद प्राप्त गर्याे भने उपविजेता फिदिम माविले नगद सात हजार ५ सय प्राप्त गर्न सफल भयो। टस जितेर ब्याटिङ गरेको नयाँ नमुनाले निर्धारित १० ओभरको खेलमा ९ ओभरमा सबै विकेट गुमाई ८० रनको स्कोर बनाएको थियो । ८१ रनको लक्ष्य पछ्याएको फिदिम माविले ९ ओभरमा १० विकेट गुमाई ३३ रन बनाउन फल बन्यो ।
नयाँ नमुना माविका छात्र अभय रिजाल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ११ सयसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । माघ १६ गतेदेखि भएको नकआउटको आधारमा खेलाइने प्रतियोगितामा फिदिम बजार क्षेत्रका ६ वटा निजी र सामुदायिक विद्यालय सहभागी थिए ।
फिदिममा विद्यालयस्तरीय क्रिकेट आयोजना भएको यो दोस्रो पटक हो ।