फडिन्द्र अधिकारी
लेखनाथ, माघ १७ गते । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनील भलिबल क्लबलाई ३–२ ले पराजित गर्दै आर्मी क्वालिफायर पुगेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले पुनरागमन गरेको थियो । तेस्रो सेटमा ५–१० लाई उल्टाउँदै सुनील क्लबले २२–२२ को अवस्थामा पु¥याएको थियो । अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा बनायो ।
आर्मीले चौथो सेट भने २३–२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौं सेटमा पुग्यो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले जित निकालेको हो । टाइगर कपमा ‘जित्ने समूह’बाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर पुगेका छन् ।
दुई खेलबाट एक अङ्कमात्र जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको छ । बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
न्यू डायमन्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्ने छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।