• १७ माघ २०८१, बिहिबार

सेनाको फोटो प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १६ गते । नेपाली सेनाले सेना दिवस–२०८१ का अवसरमा मङ्गलबारदेखि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी’ आयोजना गरेको छ । श्री शार्दूलजङ्ग गुल्मका गुल्मपति सेनानी अनिल श्रेष्ठले संस्कृतिसम्बन्धी विविध प्रदर्शनी गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा काठमाडौँ उपत्यकाको जात्रापर्वदेखि गुर्जु पल्टनका पोसाक, हातहतियार, वाद्यवादन राखिएका छन् । श्रेष्ठले ललितपुर र काठमाडौँको लोप भइसकेका बाजाहरूलाई प्रदर्शनमा राखिएको बताउनुभयो । 

प्रदर्शनीमा कालरात्रिमा मार हान्ने खुकुरी, इन्द्रजात्राको बाटाखोर (गुर्जुपल्टनले लगाउने टोपी), दुईमुखे पटह (एकप्रकारको बाजा) हातहतियार, जात्राका रथहरू राखिएको छ । माघ १८ सम्म चल्ने प्रदर्शनीमा सैनिक ब्यान्डले साङ्गीतिक प्रदर्शनीका साथै विभिन्न अवसरमा प्रयोग गरिने वाद्यवादन पनि राखिएको छ । प्रदर्शनीमा रिपुमर्दिनी सैनिक महाविद्यालयका विद्यार्थीले नेवारी खाजाको परिकार र लाखेको प्रदर्शन गरेका थिए भने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका विद्यार्थीले पेन्टिङ गरेका थिए । सैनिक आवासीय महाविद्यालयका शिक्षक धु्रव प्रजापतिले विद्यालयबाहिर विद्यार्थीको कला प्रदर्शन गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । प्रदर्शनीमा सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकासनिर्माण, विपत् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दललगायत झल्काउने तस्बिर राखिएका छन् ।