काठमाडौँ, माघ १५ गते । न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा हराउँदै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।
उपाधिका लागि बागमतीले बिहीबार सङ्कटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
टाइब्रेकरमा बागमतीका नविन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गर्नुभयो । एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले मात्र गोल गर्नसक्नुभयो ।
सरोज तामाङको प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले विफल पार्नुभयो भने सुमित श्रेष्ठको प्रहार पोस्टमाथि हुईकिएको थियो । गोलरक्षक विकेश प्लेयर अफ दि म्याच हुनुभयो ।
नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।
यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।