कर्णाली, माघ १५ गते । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०८१’ सम्बन्धी अभिमुखीकरणमा मन्त्री बुढाले सरकारले राहतसम्बन्धी नयाँ मापदण्ड ल्याएको बताउनुभयो । सङ्घ तथा प्रदेश सरकारले राहत दिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय सरकारबाट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पहुँचका भरमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले जाजरकोट भूकम्पबाट क्षति पुगेका स्वास्थ्य र शिक्षा क्षेत्रका भौतिक संरचना निर्माणका लागि रु ५० करोड बजेट विनियोजना गरेको जानकारी दिनुभयो । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावितको काम अगाडि बढ्ने र राहत वितरण जनमुखी हुने मन्त्री बुढाको भनाइ छ ।
प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद् अन्त्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि’ राष्ट्रिय परिषद्बाट स्वीकृत भइसकेकाले यथाशीघ्र लागू हुने चरण गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद् पीडितहरूलाई राज्यले धान्नसक्ने स्थिति नभएकाले विश्व बैंकबाट रु २१ अर्ब सहुलियत ऋण लिइएको छ । यसले पीडितको पीडामा मलम लगाउनेछ ।” उहाँका अनुसार प्राधिकरणलाई यतिबेला चार सय ७७ इञ्जिनियर आवश्यक छ । विभिन्न १६ संस्थाले ४५ दिनसम्मको खर्च व्यहोर्ने प्राधिकारणले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले विपद् पूर्वानुमान, तयारी र प्रदेश सरकारले निर्माण गरेको कार्यविधि र योजनाका बारेमा जानकारी दिनुभयो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनजन्य विपद् तथा आगलागीजन्य घटना र भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका बारेमा प्राधिकरणले गरेको योजनाबारे प्रस्तुति राख्नुभएको थियो । रासस