• ७ वैशाख २०८२, आइतबार

राष्ट्रिय बुद्धिचालमा रुपेशको एकल अग्रता

blog

चाल चल्दै रुपेश जैसवाल ।

काठमाडौँ, माघ १४ गते । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा पुरुषतर्फ एफएम रुपेश जैसवालले अग्रता बनाउनुभएको छ । 

सोमबार पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले तीन अङ्क जोड्दै राष्ट्रिय च्याम्पियनको पुनः दाबी पेस गर्नुभएको छ । रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौँका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्नुभयो । 

यसैगरी दोलखाका आशिष फुयाँलले पनि अपराजित रहँदै २.५ अङ्क बनाउनुभयो । दोस्रो स्थानमा रहनुभएका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौँका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराउनुभयो भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेल्नुभयो । 

यस्तै काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी र प्रेमकृष्ण महर्जन समान दुई अङ्क जोड्दै संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ । महासङ्घले राष्ट्रिय स्पर्धाका शीर्ष तीन जना र राष्ट्रिय प्रतियोगिता ‘बी’ बाट नौ जना खेलाडी छनोट गरी १२ जनाबिच ११ चरणको राउन्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा महिलातर्फ काठमाडौँकी सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबैखेल जितेर अग्रता बनाउनुभएको छ ।  सिन्दिराले काठमाडौँकी निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेलमाथि जीत दर्ता गर्नुभयो ।

यस्तै  एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराउनुभयो । यस्तै झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी शुशिला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी ईशा गिरि, झापाकी कृतिसारा अधिकारी र काठमाडौँकी बिनिता कपालीले समान दुई अङ्क जोड्दै दोस्रो स्थानमा हुनुहुन्छ ।

सोमबार खेल बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले शुभारम्भ गर्नुभएको थियो । उक्त अवसरमा महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।