प्रतीक इच्छुक शर्मा
सल्यान, माघ १४ गते । सल्यानका झण्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाका १० पालिकाका २३७ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । देशव्यापी रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म चल्नेछ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने तयारी गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले खोप केन्द्रमा २५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत तारा रिजालका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको बताउनुभयो । उहाका अनुसार ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचारसमेत सुनिश्चित गर्न सरकारको योजना रहेको छ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।