रमेश पौडेल
पोखरा, माघ १३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतको मित्रता र साझेदारी लामो समयदेखि कायम रहेको बताउनुभएको छ।
भारतको ७६ औं गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशको सम्बन्धलाई अझै बलियो बनाउने बताउनुुभयो।
रामायणकालदेखिकै रहेको भारत सरकार र नेपाल सरकारको सम्बन्धले नेपालको विकास निर्माण तथा विभिन्न सामाजिक कार्यक्रममा दुई देशको सम्बन्ध अनुकरणीय बन्दै गएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक एवम् सांस्कृतिकलगायतका क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले खुला सिमानाकाले दुवै देशका नागरिकलाई व्यापार, व्यवसाय, रोजगारी जस्ता क्षेत्रमा सहज बनाएको बताउनुभयो।
भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यालय यस क्षेत्रको महत्त्वपूर्ण संस्थाको रुपमा अघि बढेको बताउनुभयो।
भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्त सिंह बघेलले भारतीय पेन्सन क्याम्प पोखराबाट मात्र करिब ३५ अर्ब पेन्सन वितरण गर्दै आएको जानकारी दिनुभयो।
भारत सरकारले नेपालको शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताउनुहुँदै उहाँले नेपालमा एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, साैर्य ऊर्जा जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।
उक्त कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित जर्नल लोकार्पण भएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका छन्।
सोही कार्यक्रममा अमर प्राप्त गोर्खा सैनिकका सन्ततिलाई सम्मानसँगै विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ।