अमरराज नहर्की
तनहुँ, माघ १३ गते । दानबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित महर्षि वेदव्यास विद्याश्रम (गुरुकुल संस्कृत विद्यालय) आर्थिक सङ्कटमा परेको छ । विद्यालय सञ्चालन गर्न रकम अभाव भएपछि कथा प्रवचनको माध्यमबाट रकम सङ्कलन गर्न थालिएको हाे ।
माघ माहात्म्य कथा प्रवचन गरिएको छ । पराशर आश्रम संरक्षण समितिद्वारा सञ्चालित यस गुरुकुलमा हाल ११ जना विद्यार्थी अध्ययनरत छन् । आश्रमले गुरुकुलका गुरु तथा विद्यार्थीलाई, आवास तथा खाना एवम् विद्यार्थीलाई आवास, भोजनलगायत अध्ययनको सबै खर्च व्यवस्थापन गर्दै आइरहेको छ ।
राम्रोसँग सञ्चालन गर्न वार्षिक रुपमा २० लाख रुपियाँभन्दा बढी आवश्यक पर्ने भए पनि सात लाखको हाराहारीमा रकम सङ्कलन भएको आश्रमले जनाएको छ। गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएकोले आर्थिक सङ्कलन गर्न माघ माहात्म्य कथा प्रवचन कार्यक्रमको आयोजना गर्नुपरेको आश्रमका अध्यक्ष सत्यप्रसाद खनालले बताउनुभयो ।
माघ ८ गते देखि १३ गतेसम्म गरिएको कथा प्रवचनबाट करिब दुई लाख रुपियाँ सङ्कलन भएको आश्रमका महेन्द्र गिरीले बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कथा प्रवचन कार्यक्रममा सम्बोधन गर्दै धर्म र संस्कृति संरक्षणका लागि गुरुकुल शिक्षा प्रदान गर्न आवश्यक पर्ने भएकोले नगरपालिकाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
यस गुरुकुल सञ्चालनका लागि नगरपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेको जानकारी उहाँले दिनुभयो । साथै उहाँले गुरुकुलका लागि नगरपालिकाले थप दुई लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । माघ ८ गतेबाट सुरु गरिएको कथा प्रवचन कार्यक्रम आइतबार समापन गरिएको छ । पण्डित कृष्णकान्त काफ्लेले कथा वाचन गर्नुभएको थियो ।