• १४ माघ २०८१, सोमबार

वडास्तरीय भलिबलको उपाधि नवदुर्गा युवा क्लब जुकियालाई

blog

विन्दु थापा

पाल्पा, माघ १३ गते । तानसेन नगरपालिका ११ को आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगितामा नवदुर्गा युवा क्लब जुकिया प्रथम भएको छ । यस्तै, वडास्तरीय भलिबल प्रतियोगितामा मिलन फ्रेन्डस युवा क्लब तिलाहार दोस्रो र चण्डिका युवा क्लब जुकिया तेस्रो भएको छ । 

विजयी क्लबहरुलाई क्रमशः १५ हजार, ८ हजार, ४ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको छ । वडा कार्यालको नीति तथा योजना अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरेको हो । 

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै प्रतियोगिता आयोजना गरेको वडाका अध्यक्ष तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । खेलका माध्यमले आपसी भाइचाराको सम्बन्ध स्थापित गर्न सकिने, स्वस्थ जीवनयापन गर्न सहयोग पुर्‍याउने, मनोरञ्जनात्मक कलाले समाज र टोलको पहिचान झल्काउन सकिने कार्कीले बताउनुभयो । 

कार्कीले भन्नुभयो, “खेलाडीका लागि आवश्यक खेल साम्रगी तथा भनेजस्तो खेलमैदान निर्माण गर्न सकिरहेका छैनौं आगामी दिनमा यो विषयलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं खेलाडीका जोस र इच्छाशक्ति देख्दा गर्वले छाती चौडा भएको छ गाउँको दुर्गममा बसेर यति राम्रो खेल खेलेको देख्दा साँच्चिकै आज खुसी लागेको छ ।”

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका निमित्त प्रमुख कोशलराज घिमिरेले गाउँका खेलाडी भनेर हेर्ने हेयको दृष्टिकोण परिवर्तन गरिनुपर्ने बताउनुभयो । खेल खेल्ने प्रयाप्त समय नहुँदा र गुणस्तरीय खेल मैदान नभएकाे अवस्थामा समेत यति राम्रो खेल खेल्न सक्ने खेलाडीलाई नगर सरकार र स्थानीय सरकारले सहयोग पुर्‍याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

स्थानीय स्तरमा उत्पादन गरेका खेलाडी नै राष्ट्रका दरिला खम्बा भएका कारण स्थानीय खेलाडी संरक्षण गर्न सबै लाग्नुपर्ने घिमिरेको भनाइ छ । प्रतियोगितामा ७ टिमको सहभागिता थियो । जसमा विशाल नेपाली उत्कृष्ट खेलाडी बन्नुभएको छ ।