विश्वकै सर्वोच्च शक्तिशाली मुलुक अमेरिकाले यस पटक पनि महिला राष्ट्रपति पाएन । यसभन्दा अघिल्लो कार्यकालमा पनि यस्तै भयो । अघिल्लो कार्यकालमा हिलारी क्लिन्टन र यस पटक कमला ह्यारिस पराजित हुनभयो । दुवै अब्बल महिला हुँदाहुँदै पनि अमेरिकी मतदातले उहाँहरूलाई पत्याउनन् । अमेरिकी मतदाताले महिला उम्मेदवारलाई किन विश्वास गरेनन् सोचनीय विषय बनेको छ । अमेरिकामा पूर्ण स्वतन्त्रता भए पनि महिला नेतृत्वले शासन गर्ने अवसर पाउन सकेको छैन ।
यस पटक अमेरिकाका निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको आरम्भ विभिन्न कार्यकारी आदेशहरू जारी गरेसँग त्यसले विश्वमा नयाँ तरङ्ग ल्याएको छ । पदभार ग्रहण गरेको केही घण्टाभित्रै उहाँले ह्वाइट हाउसबाट सयभन्दा बढी विभिन्न दस्ताबेजमा हस्ताक्षर गरेर अनुमोदन गर्नुभयो ।
मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरिएको छ भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी सङ्गठन भनिएको छ । ट्रम्पले निवर्तमान बाइडन प्रशासनले लागु गरेका झन्डै असी वटा प्रावधानलाई उल्टाइ दिनुभएको छ भने पेरिस जलवायु सम्झौताबाट फेरि अमेरिकालाई अलग गराउनुभयो ।
राष्ट्रपति ट्रम्पले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ नाम दिइएको सरकारी खर्च प्रभावकारितासम्बन्धी विभाग, लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा र सङ्घीय सरकारमा जैविक सत्यताको पुनस्र्थापना गर्नु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रक्रियाको थालनी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको छ । सन् २०२१ को जनवरी ६ मा क्यापिटल भवनमा भएको दङ्गामा संलग्नहरूलाई क्षमादान दिइएको छ । भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार ठहर गरी आवश्यक कारबाही गरिने भएको छ ।
सोमबार (जनवरी २०) भव्य शपथग्रहण समारोहमा उहाँले २९ मिनेट लामो भाषणमा अमेरिकी सपनालाई पुनस्र्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्ववर्ती राष्ट्रपतिको प्रशासनले अराजकता र विनाश छाडेर गएको आरोप लगाउन पछि पर्नु भएन ।
उहाँले अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ भन्दै आजका दिनदेखि हाम्रो देश फस्टाउने र सम्मानित हुने दाबी गर्नुभयो । उहाँले आफूले पहिला सय दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत सार्वजनिक गर्नुभएको छ । ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गरिने बताउनुभयो ।
त्यस्तै तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा तत्कालै सेन्सरसिप अन्त्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने घोषणा पनि गर्दै उहाँले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महìवपूर्ण क्षणको स्मरण गर्दै भन्नुभयो, “ममाथि गोली बर्साए पनि मलाई ईश्वरले बचाए ।” “हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे । मलाई अमेरिकालाई फेरि महान् बनाउनका लागि बचाइएको हो ।”
ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गर्दै उहाँले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने बताउनुभयो । पानमा नहरलाई अमेरिकी नियन्त्रणमा ल्याउने भएको छ । “हामी यसलाई फिर्ता ल्याउने छौँ,” ट्रम्पले भन्नुभयो । उहाँले ‘गल्फ अफ मेक्सिको’ को नामलाई परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ बनाउने घोषणा गर्नुभयो ।ट्रम्पले अन्तरिक्षतिर हेरेर भन्नभयो, “हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गल ग्रहमा हाम्रो झन्डा फहराउने छौँ ।”
अब अमेरिकामा जन्मका आधारमा नागरिकताको हकको परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन् ।
ट्रम्पले अमेरिकामा हुने सबै गैरकानुनी प्रवेश रोकिने भन्दै १० औँ लाख अपराधी विदेशीलाई देशनिकाला गरिने बताउनुभयो । अमेरिकामा जन्म भएकै आधारमा अमेरिकी नागरिकता पाउने अधिकारलाई अन्त्य गरिएको छ, त्यसको अर्थ कागजातविहीन र सरकारी अभिलेखमा नरहेका आप्रवासीहरूका अमेरिकामा जन्मेका सन्तानहरू अब उप्रान्त स्वतः अमेरिकी नागरिक बन्न पाउने छैनन् ।अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले दोस्रो पटक ४७ औँ राष्ट्रपतिका रूपमा पदभार सम्हाल्नुभएको छ ।
उहाँले पानमा नहर, डेनमार्कको स्वायत्त भूभाग मानिएको ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैनिक परिचालनको सम्भावना अस्वीकार नगरेको बताउँदै धेरै जनालाई सजग गराउनुभएको छ । ट्रम्पले दुवै भूभागलाई अमेरिकाको आर्थिक सुरक्षाका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुने दाबी गर्नुभएको छ । अमेरिकी सेनालाई यस उद्देश्यका लागि परिचालन गर्नेबारे ट्रम्पले पहिलो पटक सार्वजनिक रूपमा यस्तो स्वीकारोक्ति गर्नुभएको हो । उहाँले क्यानडालाई अमेरिकामा ‘समावेश’ गराउनेबारे पनि आर्थिक दबाब दिने बताउनुभयो । पानमा, ग्रिनल्यान्ड, डेनमार्क, मेक्सिको र क्यानडा सबैले यो भनाइप्रति आक्रोशसहितको प्रतिक्रिया दिएका छन् ।
२० औँ शताब्दीको आरम्भमा पानमा नहर बनाउने कार्यको नेतृत्व र त्यसपछि दशकौँका वार्तापछि अमेरिकाले सन् १९९९ मा पानमाको पूर्ण नियन्त्रण पानमालाई हस्तान्तरण गरेको थियो ।अहिले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उक्त नहर अमेरिकी नियन्त्रणमा फिर्ता लिन चाहनुभएको हो । “पानमा नहर हाम्रो देशका लागि निकै महत्वपूर्ण छ । हामीले पानमा नहर पानमालाई दिएका थियौँ तर उनीहरूले त्यो उपहारको दुरुपयोग गरेका छन् । त्यो नहर चीनले चलाइरहेको छ र त्यसको दुरुपयोग गरेको छ । हामीले नहर चीनलाई दिएका थिएनौँ,” ट्रम्पले भन्नुभयो ।
बिबिसीका अनुसार यो नहर हुँदै ओहोरदोहोर गर्ने साधनहरूको ७२ प्रतिशत अमेरिकी ढुवानीका साधन छन् । चिनियाँ ढुवानीका साधन दोस्रोमा २२ प्रतिशत रहेको पानमा नहरसम्बन्धी निकायले जनाएको छ । पानमामा चीनले पनि उल्लेख्य आर्थिक लगानी गरेको छ ।
अनुसार प्रशान्त क्षेत्रमा अमेरिकी व्यापारका लागि मात्रै नभई भविष्यमा चीनसँग हुन सक्ने सैन्य द्वन्द्वमा पनि यो नहर अमेरिकाका लागि अपरिहार्य हुन सक्छ । ट्रम्पले यसअघि अमेरिकी कार्गो पानीजहाजलाई धेरै शुल्क लिएको आरोप पानमामाथि लगाउनुभएको थियो । पानमाका विदेशमन्त्री ह्याइए मार्टिनेज अचाले पानमा कनालको सार्वभौम सत्ताबारे कुनै वार्ता नहुने बताउनुभयो । “यो नहर नियन्त्रण गर्ने एक मात्रै हात पानमाका नागरिकसँग छ र त्यसको निरन्तरता कायमै रहन्छ,” मार्टिनेज अचाले जोड दिनुभयो ।
विश्वकै सबैभन्दा कम जनघनत्व भएको ग्रिनल्यान्ड डेनमार्कको स्वायत्त भूभाग हो । आफू पहिलो पटक राष्ट्रपति भएका समयमा सन् २०१९ मा ट्रम्पले ग्रिनल्यान्ड किन्ने योजना अघि सार्नुभएको थियो ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्प प्रशासनसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउँदै तर ग्रिनल्यान्ड त्यहीँका जनताको भएको दाबी गर्नुभयो ।
“ग्रिनल्यान्ड स्थानीय जनताको हो । त्यहाँका जनता आफ्नै भाषा र संस्कृतिमा गर्व गर्छन् । यसअघि पनि भनिसकेको कुरा हो कि ग्रिनल्यान्ड बिक्रीका लागि होइन,” फ्रेडरिक्सनले जोड दिनुभयो ।
ट्रम्पको चासो पनि अनपेक्षित किसिमको छैन किनभने यो भूभाग प्राकृतिक स्रोतमा धनी छ । डेनमार्कको भूगर्भ निकाय र ग्रिनल्यान्डको वेबसाइटमा विश्वकै सबैभन्दा ठुलो यो द्वीपमा पाइने बहुमूल्य खनिज र ऊर्जाका स्रोतहरूका लामा सूची छन् ।
त्यसमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथियम र टाइटानियमसहितका आठ वटा दुर्लभ धातु सूचीकृत छन् । त्यस्तै कोइला र युरेनियमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तìवहरू साथै हिरा र माणिक जस्ता बहुमूल्य पत्थरहरू त्यहाँ पाइन्छन् । त्यहाँ तेल र ग्यासको ठुलो भण्डार भएको पनि दाबी गरिएको छ तर ती खानीहरू पहिचान हुन बाँकी छन् ।
ब्याट्रीको उत्पादनका लागि प्रयोग हुने दुर्लभ धातुहरू पाइने भएका कारण पनि ग्रिनल्यान्डलाई मूल्यवान मानिएको छ । विश्व बैङ्कले विश्वको माग पूरा गर्न यस्ता खनिजहरूको उत्खनन सन् २०२५ सम्म पाँच गुणाले बढाउनुपर्ने प्रक्षेपण गरेको छ । विश्व बैङ्कका अनुसार त्यो अमेरिकाका लागि मात्रै नभएर चीनका लागि पनि आवश्यक पर्न सक्छ ।
रुसले पनि यो क्षेत्रलाई रणनीतिक महत्वका दृष्टिले हेर्ने गर्छ । त्यसको कारण यो रुस र अमेरिकाको बिचमा अवस्थित हुनु पनि हो । अमेरिकाले यसअघिबाटै यो द्वीपमा बलिस्टिक क्षेप्यास्त्रको पूर्वचेतावनी दिने प्रणालीसहित आफ्नो सैन्य अखडा राखेको छ ।
ग्रिनल्यान्डमा सरकारको नेतृत्वमा अहिले स्वतन्त्रता पक्षधर प्रधानमन्त्री म्युत बी एग्दे हुनुहुन्छ । उहाँले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट गर्नुभएको छ । आगामी एप्रिलमा हुने संसदीय निर्वाचनसँगै यो द्वीपलाई स्वतन्त्र बनाउनेबारे जनमतसङ्ग्रह पनि हुन सक्ने उहाँले सङ्केत गर्नुभयो । ट्रम्पले अमेरिकाको सबैभन्दा ठुलो छिमेकी क्यानडालाई पनि चिढ्याउने अभिव्यक्ति दिनुभएको छ । उहाँले क्यानडासँगको सीमा ‘कृत्रिम’ रहेको र उक्त देश अमेरिकाको ‘५१ औँ राज्य’ हुन सक्ने जस्ता अभिव्यक्ति दिनुभएको छ ।
क्यानडाको सुरक्षाका लागि अर्बौं डलर खर्च भइरहेको भन्दै ट्रम्पले वर्तमान अमेरिकी सरकारको आलोचना गर्नुभएको छ । उहाँले क्यानडाबाट कार, काठका सामान र दुग्ध पदार्थको आयातबारे पनि समस्या रहेको बताउनुभयो ।
सिएनएनका अनुसार मेक्सिको जस्तै क्यानडाबाट अमेरिकामा आयात हुने सामग्रीमा पनि आफ्नो प्रशासनमा २५ प्रतिशत कर लगाउने घोषणा ट्रम्पले गर्नुभएको छ । ट्रम्पले मेक्सिको र क्यानडाको सीमाबाट अमेरिकामा लागुऔषध आयात भइरहेको दाबी गर्नुभयो ।
यद्यपि अमेरिकी तथ्याङ्क अनुसार क्यानडासँगको अमेरिकी सीमाबाट जफत हुने लागुऔषध देशको दक्षिणी सीमाबाट बरामद हुनेभन्दा उल्लेख्य मात्रामा न्यून छ । क्यानडाले पनि सीमा क्षेत्रमा उच्च सुरक्षा बढाउन नयाँ नीतिहरू कार्यान्वयन गरिने जनाएको छ । उक्त देशले अघि सारेका योजनामा सीमा क्षेत्रमा निगरानी बढाउने र संयुक्त फौजहरूले सङ्गठित अपराध हुने परम्परागत नाकाहरूमा कारबाही गर्नेलगायत छन् ।
हालै राजीनामाको घोषणा गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आर्थिक शक्ति लगाएर क्यानडालाई अमेरिकामा मिलाउने ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको छ । उहाँले दुई देश एक हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
राजनीतिक विश्लेषकका अनुसार अहिले ट्रम्प साम्राज्यवादी र विस्तारवादी जस्तो देखिनुभएको छ । उहाँ वास्तवमै विश्वमा अमेरिकी पाइला फैलाउन चाहनुहुन्छ । यो गम्भीर चेतावनी हो । ट्रम्पको पहिलो कार्यकाल भन्दा यो दोस्रो कार्यकाल निकै भिन्न हुने देख्दै छौँ । यसले बाँकी विश्वमा अस्थिरता ल्याउन सक्छ ।
अमेरिकामा गएको नोभेम्बर ५ मा ४७ औँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । निर्वाचनमा रिपब्लिकन पार्टीकातर्फमा डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा हुनुहुन्थ्यो । ट्रम्पले ५३८ इलेक्टोरल मतमध्ये ३१२ मत ल्याएर चुनाव जित्नुभएको हो । उहाँको जितसँगै अमेरिकी संसद्को दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत पुगेको छ ।
राष्ट्रपति ट्रम्पले चाहनु भयो भने अहिले जारी विभिन्न देशका युद्ध तथा द्वन्द्व अन्त्य गरी विश्वमा शान्ति कायम हुन सक्छ । युद्धलाई पनि आर्थिक स्वार्थले हेरियो भने विश्वमा झन् अशान्ति र अस्थिरता बढ्ने छ ।