• ९ माघ २०८१, बुधबार

आधुनिक पेट्रोल पम्पः पाँच महिनामा सकियो ६० प्रतिशत काम

blog

नवलपुर सदरमुकाम कावासोतीमा निर्माणधिन आधुनिक पेट्रोल पम्प । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, माघ ९ गते ।
नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प निर्माण पाँच महिनामै ६० प्रतिशत सकिएको ठेकेदारले बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

यो पेट्रोल पम्प निर्माणको जिम्मा काभ्रे देउरालीको अल्फा हेक्सले लिएको छ । एक वर्ष भित्रमा सक्ने गरी गत भदौ २ गते निर्माणको काम सुरु भएको थियो । पम्पको भदौ २ गते प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गर्नुभएको थियो ।

महेन्द्र राजमार्ग क्षेत्रमा रहेको जिल्ला प्रहरी कार्यालय अघिल्तिर फलफूल चोकमा पम्प निर्माण भइरहेको हो । प्रहरीको नाममा रहेको २२ कट्ठा जग्गामा यो पम्प बनिरहेको छ । यसअघि यहाँ व्यपारीले फलफूलको व्यापार गरिरहेका थिए ।

प्रहरीले यो पेट्रोल पम्पलाई देशकै नमुना भनेको छ । यो पम्पमा इभी चार्जिङ स्टेसन, क्यास्ट्रो एरिया, गाडी ग्यारेज, मोवाइल र एटएिम बैंकिङ सुविधा, क्याफे तथा करिब ६ कट्ठा जग्गामा सुन्दर बगैँचा निर्माण हुने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुने उहाँको भनाइ छ ।

प्रहरी कल्याण कोषको १० करोड ९९ लाख ५४ हजार रुपियाँ लागतमा पम्प बन्न लागेको हो ।  राज्य संयन्त्रको प्रमुख अङ्ग मानिने प्रहरीले नाफामुलक व्यापार व्यवसाय गर्न नहुने भन्दै आलोचना भइरहे पनि प्रहरीले कावासोतीको मुख्य बजारमा पम्प खोलेर व्यापार गर्न लागेको हो ।