राममणि दाहाल
हेटौँडा, माघ ८ गते। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचना नदिनु निरङ्कुशता भएको बताउनुभएको छ।
प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेशले मङ्गलबार हेटौँडामा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकसम्बन्धी ऐनले नदिनु भनेको बाहेकका सूचना मागकर्ता दिनुपर्ने बताउनुभयो।
सूचनाको हक सुशासनको सूचक भएको भन्दै प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनले पारदर्शितामा सहयोग पुग्ने बताउनुभयो।
उहाँले सूचनाको नाममा गलत सुचना दिँदा समाजमा नकारात्मक भावनाको विकास हुने भन्दै सूचनाको हक सम्बन्धी नियमावली बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले जनप्रतिनिधिका लागि जति सूचना दियो त्यति नै राम्रो हुने बताउनुभयो।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, समितिका सदस्य कृष्ण सारुलगायतले सूचनाको हकको अधिकारको अधिकतम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेश समितिका अध्यक्ष हरि अधिकारीले सूचनाको हकसम्बन्धी प्रादेशीक संरचना, उद्देश्यलगायतका विषयमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव मनुका घिमिरेले सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था र सूचना वर्गीकरणलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।