अनिल पराजुली
हेटौँडा, माघ ७ गते । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीबाट २ सय १२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, चैनपुरमा बोलेरो पिक गाडीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोलेरोमा सवार २ जना भने प्रहरीलाई देखेपछि गाडी छाडेर फरार भएका छन् ।
फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गर्न सकेन । फरार भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । प्रहरीले तत्कालै स्थानीय मानिसहरूको रोहवरमा खानतलासी गर्दा उक्त गाडीको पछाडि ढालाको भागमा लुकाई छिपाई गरी ल्याइएको अवस्थामा गाँजा बरामद भएको हो ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको पुस अन्तिमसम्म तीन हजार २९४ किलो गाजा, तीन किलो अफिम, २५७ ग्राम खैरो हेरोइन, ५१ किलो चरेस, २० बोतल चरेस, ५५ ट्याब्स नाईट्रा भेट, एकहजार ४७५ एम्पुल डाईजपाम बरामद गरेको छ । प्रहरीले लागूऔषधसहित लागूऔषध ओसारपसारमा संलग्न १७ थान सवारी साधन र सोही अवधिमा लागूऔषधसहित पक्राउ परेका १०१ जनामध्ये ७० जनालाई मुद्दा दर्ता गरेको हो ।
प्रहरीले स्वदेशी नागरिक ८७ जना पुरुष र ५ महिला सहित ८ पुरुष र एक महिला विदेशी नागरिकलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागूऔषधको ट्रान्जिट पोइन्ट बनेको मकवानपुरमा प्रहरीले दिनहुँजस्तो लागूऔषधसहित मानिस पक्राउ गदै आएको छ । लागूऔषध ओसारपसारमा भरिया मात्रै पक्राउ पर्दै आएका छन् भने मुख्य नाइके र कारोबारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।