राजन रावत
हुम्ला, माघ ५ गते । जिल्लाभरका विद्यालय हिउँदे बिदामा बन्द छन् । तर नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ हल्जी गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयमा भने पठनपाठन सुचारु छ । सहयोगी निकायहरुले शिक्षकको व्यवस्था गर्नु र हिउँदमा पनि पठनपाठन सुचारु गर्न अभिभावकहरु सकारात्मक भएका कारण पठनपाठन सुचारु भएको हो ।
उक्त विद्यालयका शिक्षक बिकल तामाङले सबै अभिभावक, वडा, सहयोगी निकाय र शिक्षकको साझा सहमति अनुसार हिउँदे बिदामा पनि पठनपाठन सुचारु गरिएको बताउनुभयो । जिल्लाभर १५० वटा विद्यालय हिउँदे बिदाका कारण बन्द छन् । तर लिमीको सो विद्यालयमा भने पठनपठान सुचारु छ ।
शनिबारसमेत पढाइ हुँदै आएको उहाँको भनाइ छ । उहाँले विद्यार्थीहरुको पढाइमा सुधार ल्याउनका लागि केही वर्षयता विद्यालयमा हिउँदे बिदामा पढाइ सुचारु गर्ने गरिएको बताउनुभयो । सो विद्यालयमा दुई वर्ष अगाडिसम्म कक्षा पाँचसम्म मात्र पढाइ हुने गर्थ्यो । त्यतिबेला कक्षा पाँच उत्तीर्ण विद्यार्थीहरु काठमाडौं र केही भारतमा माथिल्लो शिक्षा अध्ययन गर्न जाने गरेको भए पनि गत वर्षबाट कक्षा पाँच उत्तीर्ण विद्यार्थीहरु सोही विद्यालयमा कक्षा छमा अध्ययन गर्ने व्यवस्था गरिएको छ ।
यद्यपि यस वर्ष कक्षा सातमा पुर्याउने र त्यसलाई मावि स्तरमा पुर्याउने लक्ष्य वडा र विद्यालयले लिएको उहाँले बताउनुभयो । यसरी विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि एक जना सरकारी, तीन जना अमेरिकी सहयोगमा सञ्चालित संस्था आत्मीय नेपाल र एक जना आधार नेपालले शिक्षकको व्यवस्था गरेको छ ।
विद्यालयको पठनपाठनको अवस्था बुझन र आत्मीय नेपालको राष्ट्रिय निर्देशक यान्जिला थापा यसवर्ष लिमीमै पठन पठनपाठनमा सघाउ पुर्याइ रहनुभएको छ । हाल विद्यालयमा २४ जना विद्यार्थी नियमित रुपमा विद्यालयमा आएर पठनपाठनमा सहभागिता जनाउँदै आएका छन् ।
चिसोका कारण १७ जना बालविकासका विद्यार्थीहरु विद्यालयमा नआउने गरेको भए पनि कक्षा एकमा चार , कक्षा दुईमा पाँच, कक्षा तीनमा चार, कक्षा चारमा दुई जना, कक्षा पाँचमा चार र कक्षा ६ मा तीन जना विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेको शिक्षक तामाङले बताउनुभयो ।
वडा अध्यक्ष पाल्जोर तामाङले विद्यालयमा बिहानको खानाको व्यवस्था अभिभावक मिलेर विद्यार्थी र शिक्षकलाई विद्यालय मै गर्ने गरिएको बताउनुभयो ।
यसको खर्च व्यवस्था पनि अभिभावक मिलेर गर्ने गरिएको छ । आत्मीय नेपालको आर्थिक सहयोगमा १४ कोठे नयाँ भवन निर्माण भएर हाल सोही भवनमा पठनपाठन हुने गरेको छ भने आठ कोठे भवन निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । यसअघि धेरै पहिले भिरालो जमिनमा बनेका जीर्ण भवनमा पठनपाठन हुने गर्थ्यो ।