• ३ माघ २०८१, बिहिबार

नेसनल लाइफले ल्यायो बाल अमृत बिमालेख

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बिमालेख अन्तर्गत बाल अमृत ४ सावधिक बिमालेख ल्याएको छ । 

विगतको बाल अमृत बिमालेखलाई अझ बढी परिष्कृत गरी बाल अमृत सावधिक बिमालेख–४ योजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माका अनुसार यस बिमालेखमा बिमितको प्रवेश उमेर न्यूनतम एक महिना र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । 

यस बिमालेखमा प्रस्तावकका रूपमा बुवाआमा वा कानुनी संरक्षक हुनुपर्ने छ । बिमाङ्क रकम न्यूनतम एक लाख र अधिकतम आयस्रोतका आधारमा ५० लाखसम्म लिन सकिने कम्पनीले जनाएको छ । यस बिमालेखले प्रस्तावकको पनि जोखिम लिएको हुने र बिमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । 

यस बिमालेख योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष रहेको छ । साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधा पनि यस बिमालेखमा रहेको विभाग प्रमुख शर्माले बताउनुभयो ।