दीपकप्रसाद गौतम
वीरगञ्ज, माघ २ गते । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण गर्दा लागत खर्च सस्तो खोजेर निर्माण मापदण्ड कार्यान्वयन नगर्दा भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा वीरगञ्जमा आयोजित अन्तरसंवाद कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुभन्दा पनि लागत खर्च सस्तो खोजेर भवन निर्माण गर्ने गर्दा पनि भूकम्पीय जोखिम हुने गरेको बताउनुभएको हो ।
विपद् आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउँदै उहाँले राहत तथा उद्धारका लागि कानुनी प्रक्रिया लामो रहेको बताउनुभयो । त्यस्तै, भौगोलिक कठिनाइ, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चुनौती रहेको प्रजिअ अर्यालले बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको आरोप लगाएका छन् । विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको सरकारको भूमिका प्रभावकारी नदेखिएको आरोप सहभागी सरोकारवालाले लगाएका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सावधानी, राहत उद्धारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता नदेखिने, सक्रियता निकै कम हुनेजस्ता कारणले जनधनको क्षति हुने गरेको वक्ताहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, पालिका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।