• २ माघ २०८१, बुधबार

लहान नगरपालिकाको वडा भवन उद्घाटन

blog

वडा कार्यालय उद्घाटन गर्नुहुँदै नगरप्रमुख महेशप्रसाद चौधरी ।

जीवछ यादव

लहान, माघ २ गते । लहान नगरपालिका वडा नं. ११ का वडा कार्यालय आफ्नै नवनिर्मित भवन सञ्चालनमा आएको छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले उदघाट्न गर्दै आज बुधबारदेखि वडा कार्यालय सञ्चालनमा आएको घोषणा गर्नुभयो । 

उहाँले भन्नुभयो, "लहान नगरपालिकको २४ वटै वडाहरुमा वडा कार्यालय व्यवस्थापनको कार्यलाई गति दिएको छ । यस वर्ष पाँच वटा वडा कार्यालयहरु सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । ‘हाम्रो लहान, समृद्ध समुन्नत र सुन्दर लहान’को नारा कार्यान्वयन अन्तर्गत वडा कार्यालय भवन निर्माण कार्यलाई अघि बढाएका छौं । वडा कार्यालयलाई आत्मनिर्भर बनाएर अधिकांश सेवा वडाबाट नै प्राप्त गर्न सक्ने कार्यमा लागेका छौं ।"

वडा नं.११ का वडाध्यक्ष सूर्यनारायण चौधरीले वडा कार्यालय व्यवस्थित नहुँदा निकै समस्याहरु झेल्नुपरिरहेको बताउँदै आफ्नै भवन भएपछि वडाका कामहरुमा सहजता आउने खुसी व्यक्त गर्नुभयो ।

लहान नगरपालिकाको सहरी क्षेत्रमा पर्ने वडा नम्बर १,२, र ३ मध्ये २ र ३ नम्बरका वडा कार्यालय निर्माण कार्य सुरु भएको छ । वडा नम्बर १ को वडा कार्यालयको लागि लहानको मुख्य चोक तरकारी बजारमा रहेको कृषि कम्प्लेक्स भवन नै प्रयोग गरिनेछ ।

सहरी क्षेत्रका ४,६,७ र ८ नम्बर वडा कार्यालय लहान–७ स्थित विद्यापति भानुभक्त वाचनालयको भवनमा अहिले सञ्चालनमा छ । सहरी क्षेत्रको सबैभन्दा बढी जनसङ्ख्या रहेको वडा नम्बर ५ को र अर्को वडा नम्बर १० को वडा कार्यालय निर्माण भइसकेको छ ।