• २८ पुस २०८१, आइतबार

कपडा बैङ्कले गरिब तथा विपन्नलाई सहज

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), पुस २८ गते । बेनी नगरपालिका–६ को कार्यालयले कपडा बैङ्क सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ । अर्थुङ्गेस्थित वडा कार्यालयमा सञ्चालित कपडा बैङ्क महिनाको दुई पटक शनिबारका दिन खोल्ने व्यवस्था गरिएको छ । 

कपडा बैङ्क खुल्ने दिनमा आर्थिक अवस्था कमजोर भएका वडावासीले आफूलाई आवश्यक पर्ने कपडा लैजाने गर्छन् । गरिब तथा विपन्नलाई सहज होस् भनेर वडा कार्यालयले दुई वर्षअघि कपडा बैङ्क स्थापना गरेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । 

कपडा बैङ्कमा आएर कपडा लैजान चाहनेले १० रुपियाँ शुल्क तिरेर आफूलाई आवश्यक पर्ने एक जोडा कपडा लैजान पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष बानियाँले बताउनुभयो । सहयोग जुटाएर कपडा बैङ्कमा सिजन अनुसारका कपडा सङ्कलन गरिएको छ । 

चिसो मौसम र चाडबाडमा एक जोडा कपडाको जोह गर्न नसक्ने विपन्न घरपरिवारलाई कपडा बैङ्क खुलेपछि निकै सहज भएको छ । कपडा बैङ्कमा नयाँ तथा लगाउन मिल्ने पुराना तर सफा कपडा झुन्ड्याएर सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाइएको छ । यसका लागि वडा कार्यालयको एउटा कोठा प्रयोग गरिएको छ । 

ज्याकेट, पाइन्ट, कमिज, जुत्ता, चप्पललगायतका महिला, पुरुष तथा बच्चाका कपडा र जाडोका लागि न्यानो कपडासमेत राखिएको छ । चिसो मौसम सुरु भएपछि वडा कार्यालयले कपडा सहयोग गर्न चाहनेलाई अनुरोध गरेको वडाध्यक्ष बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दाताबाट चिसो मौसमका लागि आवश्यक पर्ने न्यानो कपडा प्राप्त भएका छन् । अबको शनिबार कपडा बैङ्क खोलेर वितरणको व्यवस्था मिलाउने तयारी छ ।” पैसाको अभावमा कोही पनि कपडा लगाउनबाट वञ्चित नहून् भनेर वडाले कपडा बैङ्क सञ्चालन गरेको र पछिल्लो समय प्रभावकारी भएको उहाँको भनाइ छ । 

गरिब तथा विपन्न वर्गका लागि सहज होस् भनेर वडा कार्यालयले सञ्चालन गरेको कपडा बैङ्कलाई विभिन्न प्रकारका २० हजार रुपियाँ बराबरका कपडा सहयोग गरेको लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष तुलसीनाथ सुवेदीले बताउनुभयो । वडाको यो कार्य उदाहरणीय भएकाले आफूहरूले सहयोग गरेको बताउनुभयो । वडा कार्यालयले सञ्चालन गरेको कपडा बैङ्कलाई सहयोग गर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ । 

यसैबिच सुलीकोट समाचारदाताका अनुसार जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिका–१० स्थित सामुदायिक विद्यालय श्री रत्न आधारभूत विद्यालय बज्रेडाँडामा अध्ययनरत ३५ जना बालबालिकालाई न्यानो कपडा ट्र्याकसुट, टोपी र जुत्ता वितरण गरिएको हो । 

पालुङटार नगरपालिकाको विकट तथा दलित र जनजातिको बढी जनघनत्व भएको बज्रेडाँडामा रहेको रत्न आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई रिदम फाउन्डेसनले विद्यार्थीलाई कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।