• २८ पुस २०८१, आइतबार

तेह्र हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

blog

सल्यान समाचारदाता 

सल्यान, पुस २८ गते  । सल्यानका झन्डै १३ हजार किशोरीलाई  पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो ।  

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार १० पालिकाका २३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने छ । देशव्यापी खोप कार्यक्रम आगामी माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमख डा. अर्जुन बुढामगरले जानकारी दिनुभयो ।  

उहाँका अनुसार खोप केन्द्रमा २५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहसँग खोप अभियान सञ्चालन गर्न समन्वयात्मक कार्यक्रम गरिने उहाँले बताउनुभयो । विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको र विद्यालयबाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने छ ।