रजनी योगी
सुर्खेत, पुस २८ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिन सकेको छैन । जसले गर्दा आयोजना अघि बढाउन सकस भइरहेको छ । अहिले काम अवरुद्ध भएको छ ।
बाँकेको बैजनाथस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्न प्रदेश तथा सङ्घीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् तर स्थानीयले कुनै पनि हालतमा बस्तीबाट विद्युत् विस्तार गर्न नहुने बताइरहेका छन् ।
विवादकै कारण आयोजनाको काम अघि बढाउन समस्या भएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा सङ्घीय सांसदसमेत त्यस क्षेत्रमा पुग्नुभएको थियो । उक्त विषय थप पेचिलो बन्दै गएको छ तर आयोजनाको विवाद भने समाधान हुनसकेको छैन । विवादितबाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विवाद समाधान भए अबको तीन महिनामा काम सम्पन्न गर्न सकिने आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो ।
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ८० प्रतिशत प्रगति हासिल भएको छ । अझै २० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएको मितिमा कामसमेत गर्न सकेको छैन । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपियाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन भने विवाद पनि समाधान हुन सकेको छैन ।
वनको विवाद भने समाधान भएको छ । अहिलेसम्म करिब दुई हजार रुख काटिएको छ । करिब पाँच हजारभन्दा बढी रुख काटिने छ । १४८ फाउन्डेसन निर्माण गरिएको छ । अब १३ वटा फाउन्डेसन निर्माण गर्नुपर्ने हुन्छ । उक्त विवादित क्षेत्रमा उक्त फाउन्डेसन निर्माण गरिने छ । हालसम्म ३६ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विद्युत् विस्तारमा सहजीकरणका लागि सङ्घीय सरकारसँग माग गरिरहनुभएको छ । उहाँले समय समयमा कामका बारेमा अनुगमन गर्ने र देखिएको विवाद समाधानमा चासो राख्नुभएको हो ।
विवाद समाधान गर्न सम्बन्धित क्षेत्रलाई उहाँले निर्देशनसमेत दिनुभएको छ । प्रदेश समृद्धिको योजना भएकाले सबै क्षेत्रबाट पहल थाल्नुपर्ने उहाँको भनाइ छ यस्तै सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानीले पनि १३२ केभिए प्रसारण लाइन विस्तारबारे चासो दिनुभएको छ ।
बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर उहाँले आयोजनाको कामका विषयमा छलफल गर्नुभएको छ । १३२ केभी प्रशारण लाइन सम्पन्न नहुँदा सधैँ विद्युत् अवरुद्ध हुने समस्याबाट सुर्खेती जनताका साथै सम्पूर्ण कर्णालीवासीले भोगिरहेको समस्यालाई सम्बोधन गर्न प्रशारण लाइनको काममा हाल देखिएका समस्याहरूलाई छिट्टै समाधान गर्नुपर्नेमा उहाँले मन्त्रीको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।