• २८ पुस २०८१, आइतबार

विश्राम वाटिकामा प्रवेश खुला

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस २८ गते । टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको पुस २२ गते बसेको ४५ औँ कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको हो । 

नगरप्रमुख रामलाल डगौरा थारूले नगर सभामा पेस गरेको वीरेन्द्र विश्राम वाटिका पर्यटकका लागि खुला गर्ने र प्रवेश शुल्क २० रुपियाँ राख्ने निर्णय सभाले पारित गरेको छ । २०४३ सालमा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ वटा कोठा छन् । 

तत्कालीन राजा वीरेन्द्र बेला बेलामा सपरिवार यहाँ आएर बस्ने गरेको स्थानीयको भनाइ छ । राजारानी बस्ने गरेको वाटिका कस्तो होला भन्ने उत्सुकता अब मेटिने भएको हो । “वर्षभरिमा पार्क अवलोकन गर्न आउने पर्यटकको चासो यसभित्र कस्तो होला भन्नेमा उत्सुक हुन्थे,” पार्क शाखाका प्रमुख अर्जुन कुँवरले भन्नुभयो, “अब पर्यटकको त्यो उत्सुकता मेटिने भएको छ, प्रवेश शुल्कबाट आम्दानी बढ्ने छ ।”