बैतडी समाचारदाता
बैतडी, पुस २८ गते । युवापुस्तालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै आरन र चोयाको तालिम दिइएको छ । सामाजिक विकास कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहबाट दलित समुदायका युवा छनोट गरेर सातदिने तालिम दिएको हो । नयाँ पिँढीले आरन र बाँसका चोयाको सिप सिक्न पाउँदा खुसी लागेको शिवनाथ गाउँपालिका–६, डाँडाकोटमा मनिराम पार्कीले बताउनुभयो । गत वर्ष शिवनाथ गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न डोको किन्न थालेपछि पार्की व्यावसायिक रूपमै डोको बुन्न थाल्नुभएको हो ।
उद्यमीबाट प्रतिडोको छ सय रुपियाँका दरले किन्ने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । सामाजिक विकास कार्यालयले प्रशिक्षकमार्फत युवालाई आरन र बाँसका चोयाका सामग्री तयार गर्न दक्ष प्रशिक्षकद्वारा तालिम दिइएको कार्यालय प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “२५ जना युवालाई आरन र चोयाका सामग्री बुन्ने सिप सिकाएका छौँ । सिपलाई निरन्तरता दिन औजार र सामग्री किन्न प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार प्रतियुवालाई २० हजार रुपियाँका दरले आर्थिक सहयोगसमेत गरेका छौँ ।”
नयाँपुस्तालाई आरनमा बसालेर हँसिया, त्रिशूललगायत कृषि औजार बनाउन सिकाएको प्रशिक्षक शङ्कर टमटाले बताउनुभयो । तालिममा सहभागी भएका युवाले चासोका साथ सिप सिकेको सामाजिक विकास कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले बताउनुभयो ।
अधिकांश युवाले डोको बुन्न सजिलो माने पनि नाङ्लो बुन्ने सिप सिकाउन धेरै समय लागेको प्रशिक्षक जयदेव कामीले बताउनुभयो ।