• २७ पुस २०८१, शनिबार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

blog

ओदा आधारभूत अस्पतालबाट गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, पुस २७ गते । जिल्लाको महावै गाउँपालिका–४ का एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । लामो समय सुत्केरी ब्यथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

वडा –४ का तुलाराज थापाको श्रीमती वर्ष २३ लालसोभा सिंह (थापा) लाई सुत्केरी ब्यथा लागेको र उहाँलाई आधारभूत स्वास्थ्य चौकी ओदा फाउन्डेसन ल्याउने क्रममा बाटोमा थप समस्या भएपछि उद्धार गरिएको हो । 

ओदा फाउन्डेसनले जिल्ला प्रशासन कार्यालयमा बिरामीको अवस्थाबारे लिखित जानकारी गरेपछि महिला उत्थान समन्वय एकाइमार्फत हेलिकोप्टर व्यवस्था भए पनि गर्भवती थापाको समयमै उद्धार गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भौगोलिक बिकट्ताका कारण जिल्ला अस्पतालसम्म ल्याउन सडक नभएकाले हेलिकोप्टरमार्फत उद्धार गर्नुपरेको बताउनुभयो । 

महिलाको अवस्था गम्भीर भएको आधारभूत स्वास्थ्यचौकी र वडा कार्यालयको लिखित जानकारीपछि महिला बालबलिका तथा ज्येष्ठनागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार समन्वय एकाइलाई पत्राचार गरेपछि तत्काल हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अपरेटर उज्वलबहादुर शाहीले सम्बन्धित निकायले जानकारी दिने बित्तिकै जिल्ला प्रशासनबाट १५ मिनेटमा प्रक्रिया अगाडि बढ्ने भएकाले गम्भीर प्रकृतिका बिरामी, गर्भवती तथा सुत्केरी महिलाको उद्धारमा सहजता हुने गरेको बताउनुभयो ।