विजयकुमार साह
ढल्केबर, पुस २७ गते । माघे सङ्क्रान्ति नजिकिएसँगै धनुषालगायत तराई मधेशका हाटबजारमा सख्खर, तिल, चिउरा, मुरही (भुजा) को व्यापार बढेको छ । माघ १ गते मनाइने माघे सङ्क्रान्तिका दिन मधेश क्षेत्रमा सख्खर, तिल, चिउरा, मुरहीको परिकार खाने चलनले आजभोलि यसको व्यापार बढेको हो ।
व्यापार बढेपछि धनुषाको सखुवाबजार, ढल्केवर, बिरेन्द्रबजार, सबैला, जनकपुरलगायत साना तथा ठुला हाटबजार अन्य समयको तुलनामा यतिबेला चिउरा, मुरही र सख्खर बिक्री गर्ने पसलेहरुको सङ्ख्या बढेको छ ।
मधेशका प्रत्येक घरमा सख्खर मिसाइएको तिल, चिउरा, मुरही, जुनेलोको डल्लो बनाएर खाने चलनले यसको व्यापार बढेको व्यापारीहरु बताउँछन् । देशकै ठुलो हटिया छिरेश्वरनाथ नगरपालिकामा अवस्थित सखुवा बजारमा अरुबेला तीन चार वटा तिल, सख्खर र चिउरा पसल हुन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा रहेको व्यापारीले बताउनुभयो ।
व्यापारमा वृद्धि भएपछि महङ्गीमा महङ्गी बढेको उपभोक्ताको भनाइ छ । चिउरा प्रतिकिलोग्राम ७५ र मुरही एकसय रुपियाँमा बिक्री भइरहेको छ । अन्य दिनमा दुईसय रुपियाँदेखि दुईसय २० रुपियाँमा बिक्री भएको तिलको मुल्यमा बढेर २४० सम्म पुगेको सखुवा बजारका व्यापारी सुन्दरकला रायले बताउनुभयो ।
यस्तै, सख्खरको मूल्यमा पनि वृद्धि भएको छ । समान्य दिनमा ९० देखि एकसय रुपियाँमा बिक्री भएको सख्खरको मूल्य बढेर एकसय ५० रुपियाँमा बिक्री भइरहेको छ ।
चिउरा र मुरहीको बिक्री बढेपछि उत्पादन गर्ने उद्योगलाई पनि यतिखेर चिउरा मुरही उत्पादन बढाएको छ । धनुषाको मिथिला नगरपालिका –२, हजरा चौकमा रहेको राजदेवी चिउरा मुरही मिलले अहिले दैनिक ६ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम मुरही उत्पादन गरिरहेको छ ।
सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम मुरही उत्पादन गर्दैआएको सञ्चालक सागर साहले बताउनुभयो । उद्योग सञ्चालकले बिक्रीको चाप देखेर उद्योग सञ्चालनको समयावधि थप गरेको छ । सञ्चालक साहले सामान्य अवस्थामा दैनिक ८ देखि १० घण्टा सञ्चालन हुने मिल अहिले दैनिक १७ देखि १८ घण्टासम्म सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी, बजारमा तरुल, सख्खरखण्ड, पिँडालु र कन्दमुलको बिक्री पनि राम्रो भएको छ । विशेषगरी पहाडी समुदायले माघे संक्रान्तिमा उपभोग गर्ने तरुल, पिँडालु अहिले आएर मधेसी समुदायले समेत प्रयोग गर्न थालेका छन् ।
मिथिलाञ्चलमा तिला सङ्क्राइतका दिन खिचडी, मुरही, चिउरा तिलको लड्डु खाने गरिन्छ । माघे सङ्क्रान्तिका दिन उपभोग गर्ने लड्डुहरु भने पुस महिनाको अन्तिम राति नै बनाइन्छ । यसरी बनाइएको तिल, चिउरा र मुरहीका डल्ला विवाहित चेलीको घरमा कोसेलीको रुपमा पुर्याउन चलन मधेश क्षेत्रमा छ ।