• ३ असार २०८२, मङ्गलबार

सर्जकको अधिकार सुनिश्चित गर्न जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । प्रतिलिपि अधिकारसम्बन्धी ऐन, २०५९ संशोधन हुँदा फोटो र चित्रकलाको प्रतिलिपि अधिकारको विषयमा पनि स्पष्ट लेखिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहद्वारा शुक्रबार राजधानीमा आयोजित ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरूले सो कुरा बताउनुभएको हो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकारसम्बन्धी ऐन संशोधन गर्दा फोटो पत्रकार र कला सिर्जनाको सम्बन्धमा स्पष्ट रूपमा उल्लेख गर्दै सिर्जना कर्ममै संलग्न व्यक्तिबिच समन्वयात्मक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

 उहाँले फोटोग्राफरले खिचेका तस्बिर प्रयोग गर्दा र चित्रकला वा मूर्तिको फोटो खिच्दा कलाकार तथा फोटोग्राफरले एकअर्काको नाम उल्लेख  गर्ने र सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्ने बताउनुभयो । नेपाल  फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकार र फोटोग्राफरले खिचेका तस्बिर सम्बन्धित व्यक्तिको अनुमति नलिई विभिन्न अनलाइन, पत्रपत्रिकामा समेत छाप्ने, सामाजिक सञ्जालमा राख्ने, चित्र बनाउने प्रवृत्ति बढेकोले प्रतिलिपि अधिकार ऐनमा यससम्बन्धी व्यवस्था गरेर सिर्जना गर्नेको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जोखिम मोलेर  खिचेको तस्बिर अुनमतिबिना  नाम, स्रोतको समेत उल्लेख नगरी प्रयोग गर्न नपाउने र गरेमा कारबाही र जरिबानाको स्पष्ट व्यवस्था राखेर ऐनको संशोधन हुनु पर्छ ।” 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिलिपि अधिकार ऐन संशोधनको क्रममा रहेकाले ऐनमा फोटो र चित्रकलाको विषयमा समेट्न सरोकारवाला समूहले सकारात्मक सुझाव दिनुपर्ने  बताउनुभयो । प्रतिष्ठान अन्तर्गत वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौर्यगङ्गा दर्शनधारीले कलाकार, फोटोग्राफर र फोटो पत्रकार सबै सिर्जना क्षेत्रसँग सम्बन्धित व्यक्ति रहेको बताउँदै सिर्जना चोरी गर्नु अपराध हो भन्नुभयो । उहाँले यसलाई रोक्न नीति बनाएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कलाकार बेखराम बलामी, केशवराज खनाल, फोटो पत्रकार नवीन गुरुङ, कलाकार दिवेश प्रधान प्रतिलिपि अधिकार कार्यालयका प्रतिनिधि शालिकराम खतिवडा, नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश एसोसिएटका अध्यक्ष रोयल आचार्यलगायतले सिर्जनाको संरक्षणका लागि संशोधन हुन लागेको प्रतिलिपि अधिकारसम्बन्धी ऐनमा फोटो र कलाको विषयमा बुँदाहरू राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।