गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको जानकारी दिनुभयो । शुक्रबार आयोजित नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्याएर दोहोरो मूल्य कायम गरिने बताउनुभएको हो ।
“हाल ग्यासमा दिइरहेको अनुदानबाट वार्षिक ११ अर्ब रुपियाँ खर्च भइरहेको छ तर यसको लाभ सर्वसाधारणभन्दा पनि व्यवसायीले लिइरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयो । उहाँले ग्यासको फरक फरक मूल्य बनाएर घरायसी उपभोक्तालाई अनुदानको व्यवस्था गर्ने उल्लेख गर्नुभयो ।
व्यवसायीले ग्यासमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने र अनुदान पनि प्रयोग गर्ने हुँदा दोहोरो फाइदा लिएकाले घरायसी उपभोक्तालाई मात्र अनुदान दिने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
अहिले प्रतिसिलिन्डरमा तीन सय अनुदान रहेको छ । त्यो अनुदान घरायसी प्रयोजनमा सीमित गर्ने हो भने वार्षिक नौ अर्ब रुपियाँले पुग्ने र दुई अर्ब बचत हुने मन्त्री भण्डारीको भनाइ छ ।
घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाएर आमउपभोक्तालाई सहुलियत दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य एक हजार ९१० रुपियाँ निर्धारण गरिएको छ ।
ग्यासमा लाग्दै आएको भ्याट होटेल, रेस्टुरेन्ट, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् । पाँचतारे होटेलदेखि सडकपेटीसम्म चिया पकाउने र घरायसी प्रयोजनका लागि हाल ग्यासको एउटै मूल्य छ ।
मन्त्री भण्डारीले निगमले समयसापेक्ष व्यापार विविधीकरण गर्दै जानुपर्ने बताउनुभयो । ढुवानी, डिलर ग्यासको सन्दर्भ मात्र निगमको प्रमुख कामको क्षेत्र होइन, मन्त्री भण्डारीले भन्नुभयो, “नतिजा देखिने गरी नयाँ ढङ्गले काम अगाडि बढाउनु पर्छ ।”
निगमको समस्या व्यवसायीले देखाउने र व्यवसायीका समस्या निगम देखाउने प्रवृत्तिबाट हटेर व्यावसायिक क्षमता वृद्धि गर्न प्रस्ताव लिएर आउनुहोस् निर्णय गर्न मन्त्रालय तयार छ, मन्त्री भण्डारीले भन्नुभयो ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढे पनि जुन गतिमा काम हुनुपर्ने हो हुन नसकेको र निगम यसमा उदासीन देखिएको छ” उहाँले भन्नुभयो ।
सो अवसरमा उद्योग सचिव कृष्ण राउतले निगमले पेट्रोलियत पदार्थ मात्र नभएर वैकिल्पक ऊर्जातर्फ व्यापार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । १० वर्षमा निगमलाई कसरी लैजाने भनेर रणनीति योजना बनाउन सुझाव दिँदै उहाँले स्वचालित मूल्य प्रणाली समय अनुसार परिवर्तन गर्दै
जानुपर्ने बताउनुभयो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इन्धनको आपूर्ति, भण्डारण र वितरणसँगै पूर्वाधार निर्माणको काम अगाडि बढाएको जानकारी दिनुभयो ।
इन्धनमा लागु गरिएको स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक सुधारसँगै, २०७६ सालदेखि सञ्चालनमा आएको पेट्रोलियम पाइप लाइनले इन्धनको बिक्री मूल्यमा तीन रुपियाँ सस्तो पर्न गएको जानकारी दिनुभयो ।
दोस्रो चरणको पाइप लाइन विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास पाइपलाइनबाट भित्र्याएर भण्डारण गर्न आवश्यक रहेको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।