सानुको गाउँमा प्रत्येक घरमा गाईभैँसी पालिएको छ । गाउँको घरमा हजुरबुवाले भैँसी पाल्नुभएको छ । भैँसीको पाडा पनि छ । भैँसीले धेरै दुध दिन्छ तर सानु गाउँ जाँदा भैँसीको दुध खान मन पराउँदैन । उसलाई गाई मन पर्ने भएकाले गाईकै दुध खान मन पराउँछन् ।
सानु ललितपुरको एउटा स्कुलका विद्यार्थी हुन् । उनी कक्षा १ मा पढ्छन् । छोराको रेखदेख स्कुलले कसरी गरिदिन्छ होला भनेर सुरु सुरुमा सानुका आमाबाबालाई खुब पिर लाग्थ्यो । सानुलाई पनि सुरु सुरुमा नयाँ शिक्षक कक्षाकोठामा पस्नासाथ रुन मन लाग्थ्यो तर अब उ स्कुलमा रमाउन थालेको छ । साथीभाइ र शिक्षकसँग मजाले गफ गर्ने भइसकेका छन् । घुलमिल भइसकेको छ ।
सानुको पुर्ख्यौली घर सप्तरीको गाउँमा छ । उनी छ वर्षका छन् र अहिलेसम्म छ पटक मात्र गाउँ जाने मौका पाएका छन् । गाउँ जाँदा सानु सधैँ आफ्ना आमाबाबासँगै जान्छन् । गाउँमा पुगेपछि सानु खुब रमाउँछन् । उनलाई मन पर्ने जनावर गाई हो । त्यसैले सानोदेखि नै उनी जता गए पनि ‘काउ खै ? भनेर खोज्छन् । सानुको गाउँमा प्रत्येक घरमा गाईभैँसी पालिएको छ । गाउँको घरमा हजुरबुवाले भैँसी पाल्नुभएको छ । भैँसीको पाडा पनि छ । भैँसीले धेरै दुध दिन्छ तर सानु गाउँ जाँदा भैँसीको दुध खान मन पराउँदैन । उसलाई गाई मन पर्ने भएकाले गाईकै दुध खान मन पराउँछन् ।
गाउँ गएपछि सानुको समय छिमेकीको घर चाहर्दै बित्छ । छिमेकीको घरमा पालेका गाईभैँसी, बाख्रा सबैसँग उनी खेल्छन् । अनि रमाउँछन् । गाईको बाच्छा, भैँसीको पाडा, बाख्राको पाठोसँग उनको मित्रता छभन्दा हुन्छ । उनलाई छिरबिरे गाई झन् धेरै मन पर्छ । गाउँ जाँदा उनी खेतबारी पनि जान्छन् । सानुको गाउँमा ठुलो पोखरी छ । पोखरीमा माछा पालेकाले मल्लाहले जाल हान्दा सानु जिउँदो माछा देखेर खुब रमाउने गर्छ ।
सानुको एउटा भाइ छन् । घरमा उनको खेल्ने साथी नै भाइ हो । भाइसँग खेल्न पाउँदा सानु खुब खुसी हुन्छन् । सानु पढाइमा अब्बल छन् । कक्षाकोठा र घरमा पढ्ने बेलामा उनले अरू कतै नै ध्यान दिँदैनन् । समयमै गृहकार्य सक्ने गरेका छन् ।
उनका भाइले पनि सानुले जे गर्छ त्यही गर्न खोज्छन् । सानुका भाइ अहिले युकेजीमा पढ्छन् । सानुलाई चित्र कोर्न निकै मन पर्छ । चित्र कोर्दा पनि उनले मन पर्ने जनावर गाईकै बनाउने गर्छन् । उनको भाइले भने दादाले गरेका कामको नक्कल गर्न खोज्छन् ।
सानुको पढाइ र व्यवहार देखेर आमाबाबा पनि दङ्ग हुनुहुन्छ । आमाबाबाले फुर्सद हुनेबित्तिकै सानु र भाइलाई डुलाउन लैजानुहुन्छ । शनिबार छुट्टीका दिन दुवै दाजुभाइ घुम्न मन पराउँछन् । उनीहरू काठमाडौँको बुढानीलकण्ठमा रहेको स्कन टेम्पल जान रुचाउँछन् । स्कन टेम्पल कृष्ण प्रणामीको मन्दिर हो । गाई हेर्न र भेट्न पाइने भएकाले पनि सानु र उसको भाइको रोजाइमा सोही मन्दिर पर्ने गरेको छ ।
सानुले अब जाडोको छुट्टीमा गाउँ जाने योजना बनाएका छन् । त्यो बेला सानुको गाउँको घरमा रमाइलो हुने गर्दछ । जाडोमा सबै बालबालिकाको छुट्टी हुने भएकाले धेरै साथीहरूसँग भेट हुने भएकाले गाउँ जान उनी अहिलेदेखि उत्सुक छन् । सानुले दुई वर्षअघि गाउँमा देखेको साँढेलाई अहिले पनि सम्झिने गर्छन् । ठुलो साँढे उनको घर छेउमा आएर परालको कुन्युमा धेरै बेरसम्म पराल खाएर गएको थियो । उनलाई त्यो साँढेले फु गरेर खेदाएको थियो । अहिले पनि सानुले ‘त्यो साँढे आउँछ ?’ भनेर हजुरबा र हजुरआमालाई फोनमा सोधिरहेका हुन्छन् ।