• २५ पुस २०८१, बिहिबार

लक्ष्यभन्दा कम धान खरिद

blog

धनगढी समाचारदाता

धनगढी, पुस २४ गते  । व्यापारीले भन्दा राम्रो मूल्य दिए पनि कैलालीमा यस वर्षसमेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट लक्ष्य अनुसार धान खरिद गर्न सकेन । किसान ले लिमिटेडलाई पर्याप्त मात्रामा धान बेच्न नआएका कारण लक्ष्य अनुसारको धान खरिद नभएको हो । 

यस वर्ष कैलालीमा किसानबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको थियो तर लिमिटेडले ३४ हजार ४५८ क्विन्टल मात्र धान खरिद गरेको छ । लक्ष्य हासिल गर्न २० हजार ५४२ क्विन्टल धान पुगेन । 

मलखादका लागि कतिपय किसानले व्यापारीबाट अग्रिम पैसा लिएका कारण उनीहरूले लिमिटेडको गोदाममा बिव्रmी नगरी व्यापारीलाई धान दिएकाले लक्ष्य हासिल नभएको सूचना अधिकारी नवीन बुढाले बताउनुभयो । “सबै किसानले हाम्रो गोदाममा धान बेच्दैनन्,” उहाँले थप्नुभयो, “पैसा लिएको वा अन्य व्यवहारका कारणले पनि उनीहरूले व्यापारीलाई नै धान दिने गर्छन् ।”

लिमिटेडले यस वर्ष प्रतिक्विन्टल तीन हजार ४१०.५१ रुपियाँमा मोटा धान खरिद गरेको छ । जुन व्यापारीको भन्दा राम्रो मूल्य हो । व्यापारीले यस वर्ष प्रतिक्विन्टल तीन हजार एक सय वा तीन हजार दुई सय रुपियाँमा किसानको धान खरिद गरेका जनाइएको छ । 

सूचना अधिकारी बुढाका अनुसार गत वर्ष ६० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकामा २० हजार क्विन्टल मात्रै खरिद गरिएको थियो । “लक्ष्य हासिल भएन तर गत वर्षको तुलनामा यस वर्ष खरिदमा प्रगति भएको छ,” उहाँले भन्नुभयो । 

गत वर्ष लिमिटेडले प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँमा किसानको धान खरिद गरेको थियो । व्यापारीले यो मूल्यभन्दा बढीमा धान खरिद गरेपछि लक्ष्य भेटिएको थिएन । गत वर्ष व्यापारीले प्रतिक्विन्टल तीन हजार तीन सय रुपियाँमा समेत धान खरिद गरेको बुढाले बताउनुभयो । 

लिमिटेडले यस वर्ष जिल्लाको छ स्थानमा गोदाम र केन्द्र सञ्चालन गरेर किसानबाट धान खरिद गरेको छ । टीकापुर गोदामले १४ हजार ९४०.६५ क्विन्टल, सत्ती गोदामले १० 

हजार २६८.५७ क्विन्टल, भजनी खरिद केन्द्रले दुई हजार ५९१.८४ क्विन्टल धान खरिद गरेको जनाइएको छ । 

यसै गरी जोशीपुर खरिद केन्द्रमा चार हजार १४२.६६ क्विन्टल, गौरीगङ्गा खरिद केन्द्रमा २९७.४५ क्विन्टल र मोहनपुर गोदाममा दुई हजार २१६.९८ क्विन्टल धान खरिद भएको सूचना अधिकारी बुढाले बताउनुभयो । लिमिटेडले यस वर्ष कात्तिक ११ गतेदेखि किसानको धान खरिद कार्य सुरु गरेको थियो । खरिद कार्य लगभग अब सकिएको जनाइएको छ ।