• २४ पुस २०८१, बुधबार

घाम लागेपछि मध्य तराईमा राहत

blog

घाम लागेपछि खेल्दै बालबालिकाहरु । तस्बिर : गोरखापत्र

शिवशङ्कर मिश्र 

बारा, पुस २२ गते । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो । 

केहिदिन देखि निरन्तर चलेको शीतलहर र चिसोबाट प्रभावित स्थानीयहरूले घाम लागेपछि राहत महसुस गरिएको बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो । 

चिसोले गर्दा सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मजदुर र ठेलारिक्सा चलाएर दैनिकी चलाउने सर्वसाधारण धेरै प्रभावित बनेका थिए । चिसो बढेकै कारण केहि विद्यालयमा जाडो बिदा गरिएको थियो भने, स्थानीय सरकारले पालिकामा आगो ताप्नका लागि दाउरा वितरणगर्ने योजना बनाएको थियो । 

उहाँले भन्नुभयो, ‘‘बढ्दै गएको चिसोलाई मध्य नजरगर्दै नेपाली सेनाले बाराका विभिन्न स्थानमा न्यानो कपडा वितरण गर्दै आई रहेको बताउनुभयो । आजको घाम लागेपछि अब, केहि राहत भएको छ ।’’

घाम लागेपछि सबैलाई धेरै नै राहत पुगेको, बालबालिकाहरू फिल्ड्मा खेले, वृद्धवृद्धाहरू र बिरामीलाई आजको घामले थप सहयोग भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जानकारी दिनुभयो । 

लगातारको चिसोले लगाउँदै आएको कपडा फोहोर भएपछि प्रायःघरकाे छतमा कपडा सुकाउने गरिएको दृश्य देखिएको उहाँले भन्नुभयो । 

यसैगरी चिसोबाट ग्रसित भएकालाई आजको घाम धैरै नै फाईदा गरेको नारायणी उप–क्षेत्रिय अस्पताल वीरगन्जका चिकित्सक डा.राकेश तिवारीले बताउनुभयो । आजको दिन जस्तै आउने दिनमा घाम लागेपछि सबैले यसवर्षको जाडाेबाट छुट्टकारा हुने उहाँले जानकारी दिनुभयो । 

यसैगरी प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पड्तिका अनुसार चिसो बढेसँगै स्वास्थ्य समस्यासमेत बढेको थियो । अझै केही दिन बिहान, बेलुका र रातको समयमा चिसो धेरै हुने हुँदा बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।  

आजको तापक्रम अन्य दिनको तुलनामा सबै भन्दा बढी देखिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । सोमबार बिहानैदेखि मौसम सफा रहेको तथा वायुको प्रभाव पनि नरहेको सो कार्यालयका मौसम अवलोकनकर्ता मधुकुमारी मिश्राले बताउनुभयो । 

सामेबार दिउँसोको अधिकतम तापक्रम २६.७ रहेको थियो भने, न्युनतम १२ डिग्रीसेल्सियस रहेको थियो । आइतबार १७.७ अधिकतम र न्युनतम ९.२ रहेको उहाँले बताउनुभयो ।