• २४ पुस २०८१, बुधबार

किसानलाई प्रतिफलको आधारमा प्रदेश सरकारको अनुदान

blog

सरुमारानी गाउँपालिका-३ स्थित हंसपुरमा खसीबोका विक्रीका लागि तौलिँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, पुस २२ गते । सरुमारानी गाउँपालिका-३ हंसपुरकी निमाकुमारी रखालले विगत छ वर्षदेखि गाउँकै शान्तिकुञ्ज सहकारीमार्फत खसीबोका बेच्दै आउनुभएको छ । खसिबोका विक्री गर्दा प्रदेश सरकारले उपलब्ध गराउने अनुदान पाउन थालेपछि रखालले सहकारीमार्फत् नै खसीबोका विक्री गर्दै आउनुभएको छ ।

“३०-४० वटा बाख्रा पाल्दै आएको छु,” उहाँले भन्नुभयो, “वर्षेनी १०-१५ वटा सहकारीमार्फत विक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको उचित मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ । “तौल नगरी बेच्दा घाटा पनि हुन सक्छ, आफ्‌नै आँखा अगाडि जोखेर बेच्न पाइन्छ, सजिलो भएको छ ।”

आफ्‌नो मूल्यमा प्रदेश सरकारले थप अनुदानको रकम समेत दिएपछि गाउँका बाख्रापालक किसान उत्साहित देखिन्छन् । गाउँकै मनिसरा रानाले पनि वार्षिक रुपमा सहकारीमार्फत खसीबोका विक्री गरेर अनुदान रकम पाउँदै आउनुभएको छ । “प्रदेश सरकारले खसीबोका विक्री गर्दा अनुदान दिएको छ,” उहाँले भन्नुभयो, “हामीलाई खुशी लागेको छ ।” आफूले गरेको व्यवसायमा सहयोग र हौसला मिलेको उहाँको भनाइ छ ।

सरुमारानी गाउँपालिकाका दुई वटा सहकारीमार्फत प्रदेश सरकारले प्रतिफलमा आधारित अनुदान किसानलाई दिदै आएको छ । आर्थिक वर्ष ०७६-०७७ मा दुई लाख २० हजार ६७५, ०७७-०७८ मा पाँच लाख ७९ हजार ५४६, ०७८-०७९ मा ३ लाख ३७ हजार ८५५ र ०८०-०८१ मा पाँच लाख ३८ हजार अनुदान प्राप्त गरेको शान्तिकुन्ज सामाजिक उद्यमी महिला सहकारीका व्यवस्थापक टेम्पल सारुले बताउनुभयो । “किसानलाई फाइदा भएको छ,” उहाँले भन्नुभयो, “अनुदानले गर्दा खुशी हुनुहुन्छ ।” सहकारीले आर्थिक वर्ष ०८०र०८१ मा ४४१ वटा खसिबोका सहकारीमार्फत विक्री भएको बताउनुभयो ।

गाउँमा सहकारी स्थापना भएपछि किसानले सहकारीबाट नै खसिबोका विक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । गाउँमा व्यावसायिक रुपमा बाख्रापालन गर्ने किसानहरु बढ्दै गएको उहाँले बताउनुभयो । सरुमारानी क्षेत्र व्यावसायिक बाख्रापालनको पकेटको रुपमा परिचित हुँदै गएको छ ।  “वार्षिक रुपमा नियमित खसीबोका विक्री गर्दै आएका छौं,” उहाँले भन्नुभयो,“स्थानीयलाई राम्रो आम्दानीको स्रोत बनेको छ ।”

प्रदेश सरकारले किसानलाई दुध, अण्डा र मासुमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिँदै आएको छ । आर्थिक वर्ष ०७६-०७७ सालदेखि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिँदै आएको हो। मासुमा प्रति केजी २५ रुपियाँ, दुधमा प्रतिलिटर दुई रुपियाँ र अण्डामा प्रति गोटा २५ पैसाका दरले अनुदान दिने गरेको छ ।

सरुमारानी गाउँपालिका-२ कै सक्रिय सामाजिक उद्यमी महिला सहकारीमार्फत प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबाट किसान लाभान्वित भएका छन् । सहकारीले मासु र दुधमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्राप्त गरि किसानलाई दिँदै आएको सहकारीका व्यवस्थापक राधा अमात्यले बताउनुभयो ।

सहकारीको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा १५ लाख रुपियाँ बढी अनुदान वितरण गरिएको छ । ०७७-०७८ मा सात लाख ६२ हजार ८५३ रुपियाँ, ०७८-०७९ मा चार लाख ७० हजार दुई सय २९ रुपियाँ र ०७०-०८१ मा तीन लाख ८८ हजार ४९५ रुपियाँ अनुदान प्राप्त भएको व्यवस्थापक अमात्यले बताउनुभयो ।

प्रदेश सरकारले ल्याएको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबाट सिधै किसान लाभान्वित हुने गरेको लुम्बिनी प्रदेश सरकार अन्तर्गतको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ । तथ्याङ्कका आधारमा अनुदान वितरण गर्नुपर्ने भएकाले कार्यालयले सहकारीमार्फत वितरण गर्ने गरेको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । “सहकारीमा व्यवस्थित रुपमा रेकर्ड राखिएको हुन्छ,” उहाँले भन्नभुयो, “व्यक्तिगत रुपमा दिन अप्ठ्यारो हुने भएकाले सहकारीबाट दिने गरेका छौं ।” पछिल्लो समय प्रदेश सरकारले उक्त शीर्षकमा बजेट घटाउँदै लैजाँदा कार्यान्वयनमा समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो ।