• २३ पुस २०८१, मङ्गलबार

एक सातामा पाँच जनाले गुमाए ज्यान

blog

कर्णाली नदीमा हराएकाहरूको खोजी गर्दै गोताखोर समूह । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, पुस २१ गते । जिल्लाको पचालझरना गाउँपालिकामा एक हप्तामा विभिन्न घटनाका कारण पाँच जना नागरिकले ज्यान गुमाएका छन् । पचालझरना गाउँपालिका भित्र एकपछि अर्को गरी पाँच जनाको ज्यान गएको हो ।

गाउँपालिकाको वडा ४ का वर्ष ६० का श्रीकला ऐडीले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेपछि लगातार उहाँ लगायत पाँच जनाले विभिन्न घटनामा परी ज्यान गुमाएका हुन् । वडा ४ का तीन जना, वडा ९ का एक जना र वडा ८ का एक जना नदीमा बेपत्ता गरी पाँच जनाको ज्यान गएको हो । 

पचालझरना गाउँपालिकाले सार्वजनिक गरेको शोक वक्तव्यमा वडा ४ का श्रीकला ऐडीले नदीमा हाम फालेर ज्यान गुमाएको, महनबिर सेजुवालको भिरबाट लडेर ज्यान गएको, मंसिरा रोकायाको हृदयघातका कारण ज्यान गएको उल्लेख छ । गाउँपालिका अध्यक्ष देवराज शाहीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा वडा ९ का कर्णबहादुर शाहीको च्याट्याङ लागेर ज्यान गएको छ । वडा ८ का वर्ष ४० का कुस्माखर सञ्ज्याल कर्णाली नदीमा बेपत्ता हुनुभएको छ ।  

अध्यक्ष शाहीले विभिन्न घटनामा ज्यान गुमाउनेप्रति श्रदाञ्जली अर्पण गर्दै बेपत्ताको खोजीका लागि सबै निकायसँग अनुरोध गर्नुभएको छ । गत शनिबार कर्णाली नदीमा स्काभेटर (जेसिभी) तार्दा कर्णाली नदीमा स्काभेटरसहित सञ्ज्याल बेपत्ता हुनु भएको थियो । बेपता सञ्ज्यालको अवस्था अझै अज्ञात छ । पचालझरना गाउँपालिका वडा ८ का सामाजिक अभियन्ता प्रकाशबहादुर शाहीले यस्तो घटनाले सबैलाई दुखित बनाएको बताउनुभयो ।