• २१ पुस २०८१, आइतबार

सिस्नोले बनायो आत्मनिर्भर

blog

पाउडर निर्माणका लागि सिस्नु केलाइँदै ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, पुस १९ गते । त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । सिस्नुको पात टिपेर, पानीमा सफा गरी घाम र सोलारमा सुकाएर धुलो बनाई ब्रान्डिङ गरेर उनीहरूले बिक्री गर्दै आइरहेका छन् । 

खेर गइरहेको सिस्नुलाई सदुपयोगमा ल्याउन महिलाले २०७९ सालबाट ब्रान्डिङ गरेर बिक्री गर्न थालेका हुन् । पारिवारिक निजी वन सङ्घ नामक संस्थाले उनीहरूलाई सिस्नुको पाउडर बनाएर बिक्री गर्न तालिम दिएको थियो । घरव्यवहार, मेलापातको कामसँगै फुर्सदको समयमा सिस्नु टिपेर महिलाले आम्दानी लिँदै आएका हुन् ।

लाटुकी ५६ वर्षीय जुनीमाया थामीले फुर्सद र सिजनका बेला सिस्नुको धुलो बनाई बिक्री गर्दा वार्षिक एक लाख रुपियाँ हाराहारीमा कमाइ हुने गरेको बताउनुभयो । उक्त आम्दानी बालबच्चाको पठनपाठन र घरायसी प्रयोजनमा खर्च गरी बचत पनि गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

सिस्नु टिपेर ब्रान्डिङ गरी बिक्री गर्दा परिवारको घरखर्च, छोराछोरीको शिक्षादीक्षाका साथै आपत्विपत्मा काम लागेको ५० वर्षीय वसन्ती थामीले बताउनुभयो । उहाँ जस्तै १० जना महिलाले सिस्नु टिपेर पाउडर बनाई बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । 

उनीहरूले गाउँमै सामूहिक फार्म दर्ता गरी सिस्नुलाई ब्रान्डिङ गरेर बिक्री गर्दै आएका छन् । सिस्नुको पाउडर अर्गानिक, ताजा, स्वादिलो भएकाले राजधानीमा माग उच्च रहेको उनीहरू बताउँछन् । 

गाउँमै उत्पादन भएको धनियाँ, जिरा, लसुनको धुलो हालेर सिस्नुलाई पाउडर बनाएकाले माग बढेको उनीहरूको अनुभव छ । उहाँहरूका अनुसार सिस्नुको पाउडर किलोको छ सय रुपियाँमा बिक्री हुँदै आएको छ । थामी महिलाले गरेको उक्त कामको अनुसरण गाउँघरका अन्यले पनि गर्न थालेका छन् ।