• ११ वैशाख २०८२, बिहिबार

माघ सांस्कृतिक महोत्सवको तयारी पूरा : मुख्यमन्त्रीले उद्घाटन गर्ने

blog

माघ महोत्सवको तयारीका बारेमा जानकारी गराउँदै आयोजक थारु कल्याणकारिणी सभा दाङको टिम। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, पुस  १८ गते। थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुने भएको छ। माघ सांस्कृतिक महोत्सव पुसको १८ गते साँझदेखि सुरु भएर पुसको २० गतेसम्म तीन दिन सञ्चालन हुने भएको हो। 

तीन दिनसम्म सञ्चालन हुने माघ सांस्कृतिक महोत्सवको तयारी पूरा भएको आयोजक थारु कल्याणकारिणी सभा दाङले जनाएको छ। आयोजकले विहीबार महोत्सव आयोजक स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर आज साँझदेखि सुरु हुने माघ सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको थारु कल्याणकारिणी सभा दाङ अध्यक्ष समेत रहनुभएका महोत्सव आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिनुभयो। 

महोत्सवको पहिलो दिन आज साँझ  घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको उपस्थितिमा थारु समुदायको लोपोउन्मुख अवस्थामा रहेको ढुम्रु गीत गाउने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताउनुभयो। 

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिने भएको उहाँले जानकारी दिनुभयो। 

माघ महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले बताउनुभयो। 

कल्याणकारिणी सभा दाङको आयोजना, थारु कल्याणकारिणी क्षेत्र नं. २, मतहवा महासंघ दाङ, थारु पत्रकार संघ दाङको सहआयोजना तथा घोराही उपमहानगरपालिका र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको मुख्य सहयोगमा महोत्सव हुन थालेको हुन थालेको हो।