• २१ पुस २०८१, आइतबार

'अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ'

blog

नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पार्टी सचिवालयको बैठक । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मालगायतका नेताहरु सहभागी हुनुहुन्छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडाैं, पुस १८ गते । नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण साथै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयाे ।

उहाँले राजनीतिक प्रतिवेदनका मुख्य विषयहरुमा छलफल भएको पनि जानकारी दिनुभयाे । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसबिचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनुभयो । 

"सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ", उपमहासचिव ज्ञवालीले भन्नुभयो, "बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य विषयहरूमा छलफल गरेका छौँ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ ।" 

"बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले बढी ध्यान केन्द्रित गर्नुपर्छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ," उहाँले भन्नुभयाे ।

यो पनि पढ्नुहोस

एमाले सचिवालय बैठक सुरु