राममणि दाहाल
हेटौँडा, पुस १८ गते । हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ । हेटौँडामा रहेर सञ्चारक्षेत्रमा समेत क्रियाशील राजेश थापा गरिब र रोशन दीपलाई सर्प उद्धारका लागि आवश्यक सामाग्री हेटौँडा उपमहानगरपालिका परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबिच उपमहानगर प्रमुख मीनाकुमारी लामाले सामग्री हस्तान्तरण गर्नुभएको हो ।
पछिल्लो समय पिता राजेश र दीप स्थानीयको घरमा आउने सर्प निःशुल्क रूपमा उद्धार गरी संरक्षणमा लाग्दै आउनुभएको छ । तर घरमा आउने सर्पको जोखिमबाट बचाउन जाने गरेको उहाँहरुसँग उद्धारका लागि आवश्यक सामान्य सामाग्रीसमेत नहुँदा आफैँ जोखिमपूर्ण रहेको अवस्थामा उपमहानगरले उद्धार सामग्री प्रदान गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
उपमहानगरले राजेश र रोशन बाबुछोरालाई सर्प उद्धारमा प्रयोग गरिने स्नेक क्याच, स्नेक ट्याङ्क, हुक स्टिक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्चसहितको ३५ हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण प्रदान गरेको हो ।
नगरप्रमुख लामाले सर्प उद्धार गर्ने सेवामुखी भावले बिना सुरक्षा जोखिम पूर्ण अवस्थामा गरेको पाइएकोले सुरक्षित रूपमा गर्न उद्धार सामाग्री प्रदान गरेको बताउनुभयो । उहाँले सुरक्षित भएर सर्प उद्धार गर्नसमेत आग्रह गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रवक्ता न्यौपाने, हेटौँडा ८ का वडाध्यक्ष रामकृष्ण थापा, हेटौँडा–९ का वडाध्यक्ष सुकराम केसीको उपस्थिति रहेको थियो ।
हेटौँडा उपमहानगर क्षेत्र र छिमेकका पालिकाका बस्तीका घरभित्र पसेका सर्प उद्धार गरेर मानव बस्तीबाट टाढाको वनक्षेत्रमा लगरे छाड्ने गरेको थापाले जानकारी दिनुभयो । वातावरण सन्तुलनका लागि महत्त्वपूर्ण प्राणीको रूपमा मानिने सर्प उद्धारका क्रममा १४ थरिका सर्पहरू फेला पारिएको जनाइएको छ ।