काठमाडौँ, पुस १८ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा अन्तर्राष्ट्रिय खेल विन्डोको समयमा फागुन ५ देखि १४ गतेसम्म यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता रहने एन्फाले जनाएको छ ।
एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ को छनोटको तयारीको रूपमा लिएको छ ।