• २१ पुस २०८१, आइतबार

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा धारणा राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं, पुस १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

मन्त्री पाण्डे भन्नुभयो, ‘‘पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दैछौं, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन् ।’’

उहाँले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराउनुभयो । मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सीमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवम् समिति सदस्य माधवकुमार नेपाल, सांसदहरू प्रभु साह, दामोदर भण्डारी, शिशिर खनाल, सुदन किराँती, सुनीता बरा, भीमप्रसाद आचार्यलगायतले मन्त्रालयको आव ०८१/०८२ को कार्यप्रगति र नीतिसम्बन्धी विषयमा सक्रिय रूपमा छलफल गर्नुभएको थियोे ।