अमररराज नहर्की
तनहुँ, पुस १७ गते । आजबाट बन्दीपुर भ्रमण वर्ष-२०२५ को सुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्याउन सुरु गरिएको यस महोत्सवको भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले बुधबार एक कार्यक्रमकोबिच उद्घाटन गर्नुभएकाे हाे।
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकोले त्यसको लाभ गाउँसम्म पुर्याउने प्रमुख उद्देश्यले भ्रमण वर्ष सुरु गरिएको गाउँपालिकाले जनाएको छ । घुम्न आउने पर्यटकलाई बन्दीपुर बजार मात्रै नभई गाउँमा रहेका पर्यटकीय स्थलको अवलोकनको लागि अंग्रेजी नयाँ वर्षदेखि सुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, "बन्दीपुरका ६ वटै वडामा पर्यटक पुर्याउन भ्रमण वर्ष मनाउन सुरु गरेका हौं ।" गाउँसम्म पर्यटक पुग्न सहज बनाउन सडकको स्तरोउन्नती, सिंढीमार्ग निर्माण तथा उज्यालो बन्दीपुर कार्यक्रम गरिएको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैस गुरुङले बन्दीपुरमा बन्दीपुर बजार मात्रै नभई दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानी लगायतका होमस्टे, रानीवन मणिमुकुन्दसेन दरबार स्थल, थानीमाई लगायतका थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार प्रसार हुन नसकेकोले भ्रमण वर्ष सुरु गरिएको दिनुभयो ।
बन्दीपुरमा वार्षिक रूपमा डेढ लाख पर्यटकले बास बस्ने गरेकोमा त्यसलाई दुई लाख पुर्याउने लक्ष्य राखिएको बताएको बताउनुभयो । गुरुङले भन्नुभयो, "बन्दीपुर कम्तिमा तीन दिन सम्मको बसाई लम्बाउन भ्रमण वर्षले योगदान दिने अपेक्षा गरेका छौं ।" समग्र बन्दीपुर क्षेत्रको पर्यटकीय आर्कषण, उद्योग तथा व्यापार, भौतिक पूर्वाधार, मानव शक्तिका साथै प्रवद्धनात्मक गतिविधीहरूमा गुणात्मक सुधार ल्याउनका बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको बताइएको छ ।
पर्यटन क्षेत्रको विविधीकरण र विस्तारको माध्यमबाट स्थानीय समुदायमा रोजगारीको सृजना गरी उनीहरूको जीवनस्तर सुधार ल्याउन सहयोग पुग्ने बन्दीपुर क्याम्पसका प्रमुख बिक्रम पियाले बताउनुभयो । बन्दीपुरको सुन्दरता बारेमा देशमा विभिन्न ठाउँमा पुगेर घुम्न जाऔं भनेर गत वर्ष निम्ता गरी सकिएको छ ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरि यहाँ पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरिने बताउनुभयो । समूहमा आउनेलाई आवास, खानामा छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पर्यटन प्रवर्धनकै क्रममा आगामी माघ महिनामा बन्दीपुरमा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो ।
हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरू, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहण लगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएपछि पर्यटकीय क्षेत्रको रूपमा विकास हुन मद्दत पुगेको बन्दीपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख गोवर्धन भट्टराईले जानकारी दिनुभयो । काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ ।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकार सञ्चालन गरिएको छ ।
पर्यटकलाई थप सहज रूपमा यात्रा गर्न डुम्रे बजारनजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार सञ्चालन गरिएको छ ।