• २० पुस २०८१, शनिबार

निःशुल्क आँखा शिविरबाट स्थानीय लाभान्वित

blog

यशोधरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविर । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), पुस १७ गते । कपिलबस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीन दिने निःशुल्क आँखा शिविरबाट एक हजार बढी स्थानीय लाभान्वित भएका छन् । यशोधरा गाउँपालिका कपिलबस्तुको आयोजना र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिकाका आठ वटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्रकुमार मिश्राले बताउनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

शिविरबाट मोतियाविन्दुको पहिचान भएका दुई सय ६७ जनाको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरमा पाँच सय ८ जनालाई औषधी तथा दुई सय ४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । शिविरमा सेवा लिएका सेवाग्राहीले खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एक जना वृद्ध सेवाग्राहीले भने, ‘हामीजस्ता वृद्धहरूका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो, तर अब गाउँमै उपचार पाउँदा खुसी लागेको छ ।’

सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले शिविरले स्थानीय बासिन्दालाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता शिविरले विशेषगरी दक्षिणी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको बताउनुभयो ।’ आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।