• २० पुस २०८१, शनिबार

लाइन काट्न थालेपछि महसुल तिर्ने बढे

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १७ गते । नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रले बिल जारी भएको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि महसुल तिर्ने बढेका छन् ।  टीकापुर वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार पछिल्लो चार दिनमा १३२ जनाको लाइन काटिएको छ भने ८१ जनाको लाइन जोडिएको छ । 

पटक पटक जानकारी गराउँदा पनि महसुल नतिर्ने, अटेर गर्ने ग्राहकको लाइन काटिएको हो । काटिएका लाइन जोड्दा ६७ हजार ८०१ रुपियाँ र महसुलबापत सात लाख १० हजार रुपियाँ असुल भएको छ । टीकापुर वितरण केन्द्रले एक हजार ९५२ उपभोक्ताबाट छ करोड रुपियाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । टीकापुर वितरण केन्द्रमातहतमा टीकापुर, दुर्गौली, लम्की, चिसापानीलगायतका क्षेत्र पर्दछन् । 

“पुस ११ देखि विद्युत् महसुल नतिर्नेको लाइन निरन्तर काट्न थालिएको छ,” टीकापुर वितरण केन्द्रका प्रमुख जोशीले भन्नुभयो, “जिम्मेवार भएर शुल्क बुझाउनुस्, यसबाट प्राधिकरण र ग्राहक दुवैको हित हुन्छ, लाइन काटिसकेपछि पुनः जोड्दा उपभोक्तालाई ८४७ रुपियाँ ५० पैसा पर्छ, प्राधिकरणलाई काम थपिन्छ ।”