• २० पुस २०८१, शनिबार

चटौत र कँडेल सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १७ गते । नेपाल स्रष्टा समाजको स्थापना दिवसका अवसरमा सुभद्रा–विश्वराज स्रष्टा सम्मान वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युगकवि मनोज भण्डारीलाई प्रदान गरिएको छ । प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. राजेन्द्र विमलले चटौतलाई २१ हजार १०१ नगद राशि र कवि भण्डारीलाई १५ हजार एक नगद राशिसहित सम्मान प्रदान गर्नुभयो ।

प्रमुख अतिथि डा. विमलले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्‍याउने नैतिक दायित्व नेपाली साहित्यकारकै भएको बताउनुभयो । डा. विमलले साहित्य र दर्शनमाथि बोल्दै हाम्रो जीवनको अर्थ र सार्थकताबारे चर्चा गर्नुभयो । अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले स्रष्टा समाजको कार्य स्तुत्य रहेको बताउनुभयो । समाजका संरक्षक पवन आलोकले २०६४ साल पुस १६ को दिन स्मरण गर्दै समाज युवा वयमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, आरडी प्रभास चटौत, डा. शान्तिमाया गिरी, मनोज भण्डारी, पुरस्कारका संस्थापकहरू विधान आचार्य, चेतनाथ कँडेल र डा. सदानन्द कँडेलले आआफ्ना मन्तव्य राख्नुभएको थियो । 

साहित्यकारहरू डा. रमेश शुभेच्छु, महेश पौड्याल, अनुपम रोशी, मिलन समीर, नवराज पराजुली र देबु लुइटेल सम्मानित भइसक्नुभएको समाजका अध्यक्ष रोदनले जानकारी दिनुभयो ।