गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १७ गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, माण्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ । फास्ट ट्र्याकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्ने छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था अन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौँमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिने योजना बनाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल पाँच एमभिए क्षमताको पावर ट्रान्सफर्मर थियो । यसबाट थप विद्युत् आपूर्ति गर्न नमिल्ने भएकाले ठुलो ट्रान्सफर्मर लगिएको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावर लिले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युत्को विद्युत्गृहलगायतका संरचनामा ठुलो क्षति पुर्याई विद्युत् उत्पादन बन्द हुँदा फास्ट ट्र्याक अन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन
सकिरहेको छैन । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । बाढीपहिरोले क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजनाको पुनर्निर्माण चलिरहेको छ ।
विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरी आपूर्तिका विकल्पका विषयमा छलफल गरेको थियो । “विद्युत् नभएका कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनुहुँदैन,” उहाँले भन्नुभयो, “क्षति पुगेका आयोजनाबाट विद्युत् उत्पादन सुचारु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्न काम सुरु गरेका छौँ ।” उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापनाका लागि स्थानीय रूपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौँडा वितरण केन्द्र प्रमुखलाई निर्देशन दिनुभयो ।