गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप एक मात्रा लगाए हुने जनाएको छ । मङ्गलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्रकारका लागि आयोजना गरेको ‘पाठेघरको मुखको क्यान्सर र एचपिभी खोप’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा एचपिभी खोपको मात्रा एक पटक मात्र लगाए पुग्ने जानकारी दिइएको हो ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यसअघि यो खोप दुई चरणमा लगाउनुपथ्र्यो । उहाँले एचपिभी खोपसम्बन्धी नकारात्मक विषय आउन सक्ने भन्दै सञ्चारमाध्यमले यसबारे भ्रम सिर्जना गर्न नहुने बताउनुभयो । “विभिन्न खोपसम्बन्धी भ्रम विकसित देशहरूमा पनि हुने गर्छन्,” डा. गौतमले भन्नुभयो, “त्यो भ्रमलाई चिर्ने काम सञ्चार जगत्ले गर्नु पर्छ ।” सञ्चारमाध्यमले नकारात्मक सन्देश दिएको अवस्थामा खोप अभियान प्रभावित हुने भन्दै उहाँले स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले एचपिभी खोपबारे जानकारी लिनुपर्ने बताउनुभयो । एचपिभी खोप अभियानलाई ७७ वटा देशले विद्यालयमा अभियान सञ्चालन गरेको, ७६ वटा देशमा पुरुषलाई समेत खोप लगाउन सुरु गरिएको र ६१ वटा देशले एक मात्रा (सिङ्गल डोज) लगाउन सुरु गरिसकेको बताउनुभयो ।
कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भवती, गम्भीर एलर्जी भएका व्यक्तिले एचपिभी खोप लगाउन नहुने जानकारी गराउनुभयो । उहाँले विद्यालयभित्र ६ देखि १० कक्षासम्मका किशोरी तथा विद्यालयबाहिर १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो ।