गोरखापत्र अनलाइन
काठमाडौं, पुस १६ गते । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालमा रुपान्तरण भएपछि यी दुबै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्कतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक पर्ने विषयवस्तुको छनौट, शैली, उत्पादन र प्रसारणसम्बन्धी अभिमुखी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै क्रममा सार्वजनिक सेवा प्रसारणमा कार्यक्रमका विषयवस्तु चयन, कार्यक्रम उत्पादकको जिम्मेवारी एवं जवाफदेहिता विषयमा आज सिंहदरबारमा अभिमुखी कार्यक्रम आयोजना गरिएको छ ।
यसअघि गत शुक्रबार समाचारका विषयवस्तु, जिम्मेवारी र जवाफदेहिताका विषयमा अभिमुखी कार्यक्रमको आयोजना गरिएको थियो । दुबै अभिमुखी कार्यक्रममा सञ्चारविज्ञ रघु मैनालीले सार्वजनिक सेवा प्रसारणका विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने सम्बन्धमा प्रशिक्षण दिनुभयो ।
आज आयोजित अभिमुखीकरण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले पिएसबिको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पूर्ण पिएसवि बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले, मुलुकको सांस्कृतिक, सामाजिक र भौगोलिक विविधतामा आधारित भएर नागरिकले बुझ्ने खालका विषयबस्तु उत्पादन गर्ने र जनताका समस्या उजागर गरी नीति निर्मातासम्म पुगाएर समाधान गर्नेगरी अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्यअनुसार प्रसारण सामग्रीलाई प्राथमिकतामा राख्दै यसको प्रसारण जनता केन्द्रित बनाउन प्रसारणमा संलग्न सबै जनशक्तिलाई एकीकृत भएर आग्रह गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रम उत्पादन र प्रसारणसँग सम्बन्धित प्रसारकहरु सहभागी हुनुहुन्थ्यो ।