काठमाडौं, पुस १६ गते । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटवार्ता गरेका छन् ।
भेटघाटमा विशेषतः नेपाल र बेलायतबिचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
सङ्घका अध्यक्ष डा. बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदानलगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराउनुभयो ।
नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा. केसीले उल्लेख गर्नुभयो ।
त्यस्तै, उपाध्यक्ष डा. विनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराउनुभयो । यस्तै, महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउनुहुँदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराउनुभएको थियो । उक्त अवसरमा नेपाल फेस्टिबल, दोस्रो पुस्ताको डायस्पोरालगायतका विषयमा पनि छलफल भएको थियो ।
भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिनुहुँदै नेपाल र बेलायतका बिच सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै उहाँले यथेष्ट लगानी नेपालमा भित्रिन नसक्नुको कारणबारे खोजी गरी बढीभन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । उक्त भेटमा सङ्घका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।