• ५ वैशाख २०८२, शुक्रबार

सन् २५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे

blog

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे मङ्गलबार २६ औं नेपाल टुरिजम बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौं, पुस १६ गते । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ ।

मङ्गलबार २६ औं नेपाल टुरिजम बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन् । सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ ।’’

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने जानकारी दिनुभयो ।

उहाँले पर्यटन बोर्डलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिनुभयो । 

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रवर्ध्न गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो ।