सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, पुस १६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अधिकार सुनिश्चित हुने गरी धेरैभन्दा धेरै दलको समर्थनमा संविधान संशोधनको तयारी भइरहेको बताउनुभयो ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै मन्त्री सिंहले राजनीतिक स्थिरताबिना विकास असम्भव भएकाले विकास र स्थायित्वका लागि दुई ठुला दलको गठबन्धनको सरकार बनेको दाबी गर्नुभयो । वातावरणमैत्री विकास निर्माण नहुँदा जलवायु परिवर्तनको नकारात्मक असर देखिन थालेको भन्दै वातावरण संरक्षण गर्दै विकासका काम अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ । करिब डेढ वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको भवनको लागत भ्याटसहित सात करोड १४ लाख १९ हजार ३६३ रुपियाँ रहेको छ । उक्त भवन आगामी २०८२ चैत ३० गते सम्पन्न गर्ने गरी २०८१ कात्तिक ५ गते आरएमसी, पिआर एचबी जेभीले ठेक्का सम्झौता गरेको हो ।
कार्यव्रmममा रक्षामन्त्री मानवीर राईले विगत लामो समयदेखि जिल्लामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय पर्वतीय प्रतिष्ठानका संरचना निर्माणमा ध्यान दिँदै पर्यटनसम्बन्धी पठनपाठन सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठान सञ्चालनमा आएमा नेपाली मात्र नभई विश्वका विद्यार्थीलाई समेत पढाउन सकिने उहाँको भनाइ छ ।
सगरमाथालगायत दर्जनौँ हिमशृङ्खला नजिकैबाट नियाल्न सकिने पताले बजारलाई व्यवस्थित पर्यटकीय सहरका रूपमा विकास गर्न उहाँले सहरी विकासमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभएको छ । सोही अवसरमा कोशी प्रदेश सभा सदस्यहरू अमृत अर्याल, बुद्धिकुमार राजभण्डारी र डोल्मा तामाङले विकासमा सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोलुखुम्बुबाट पर्यटन र जलविद्युत्बाट उठ्ने राजस्वको अनुपातमा जिल्लाले पाउने अनुदान बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यव्रmममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले राज्यले सोलु जस्तो पर्यटकीय जिल्लालाई पर्याप्त रूपमा विकास गर्न नसकेको बताउनुभयो ।
यसअघि जनताका आधारभूत समस्या र विकास निर्माणका काममा बढी ध्यान केन्द्रित गरेको र हाल अधिकांश काम सम्पन्न भएकाले नगरपालिकाको भवन निर्माणमा लागेको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।