राधा लुइटेल
फिदिम, पुस १४ गते। मेला लागिरहेका स्थानमा डोको, डालो थुन्से र नाङ्लो झुण्ड्याइएको छ। तिनै डोको डालोमा कृतिम लाइट जडान गरेर राति बत्ती बालिन्छ।
करिब दुई सय मिटर दुरीमा तयार गरिएको चासोक मेला आयोजना स्थलमा किराँत संस्कृति र सभ्यता झल्किने पोसाक र गरगहना लगाएका मानिस आउजाउ गरिरहेका भेटिन्छन्। स्टलमा रैथाने उत्पादनको प्रदर्शनी र बिक्री भइरहेका छन्।
दिँउसो लिम्बू राई, शेर्पा, तामाङ र मगरसहित विभिन्न जात जातीका संस्कृति झल्किने कार्यक्रम आयोजना हुन्छन् अनि रात परेपछि धान नाच्छन्।
पाँचथरका सदरमुकाम फिदिम नगरपालिका ४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिसरमा आयोजित चाशोक तङनाम मेलामा किराँत समुदायले उत्सवका रुपमा लिएका छन्। अन्य समुदायका मानिससमेत त्यहाँ पुगेर रमाइरहेका छन्।
यो वर्ष पुस १० गतेदेखि सुरु भएको मेला २० गतेसम्म सञ्चालन गरिने फिदिम नगरपालिका ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो।