• १७ पुस २०८१, बुधबार

सम्पदा र संस्कृतिको सङ्गम मध्यपुर महोत्सव (फोटो फिचर)

blog

मध्यपुर महोत्सवमा महाकाली नाच । तस्बिर – मनोजरत्न शाही

भक्तपुर, पुस १४ गते। ६ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मध्यपुरथिमि महोत्सवको भीड अन्तिम दिनसम्म पनि घटेको छैन। २६ वर्षपछि भएको तीनदिने ‘मध्यपुर महोत्सवले लक्ष्य अनुसार सफलता पाएको मूल समारोहका सदस्य न्हुच्छे रत्न मानन्धरले बताउनुभयो।

शङ्खधर साख्वाः चोकबाट बोडेसम्म ५.५ किलोमिटरको क्षेत्रमा फैलिएको महोत्सवमा खानपान र व्यापार भन्दा संस्कार र संस्कृतिलाई प्राथमिकता दिइएको छ। महोत्सवमा सम्पदाका जानकारी, जात्राका झलक, सीपमूलक तालिम, घरेलु उत्पादन सामग्री प्रर्दशनी गरिएको छ।  

फोटो प्रदर्शनी, सांस्कृतिक बाजा, दाफाभजन, थिमि भैलः ताहननीको फोटो बुथ, याः मत जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनी गरिएको छ।

नेवार समुदायमा भोजको विशेष महत्त्व भएसँगै जन्मदेखि रथारोहण र मृत्युसम्म हुने संस्कारमा छुट्टाछुट्टै किसिमको परिकार राखेर भोज खुवाउने परम्परा छ । ओस्ला नेपाल नामक संस्थाले नेवाः भोजको धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउनका लागि २५ थरीका नेवाः भोज प्रदर्शनमा राखेको छ । महाकाली नाच, इन्द्र अप्सरा, मयूर, अष्टमातृका, जोगी प्याँखः, नागचा, राजकुमार, लाखेलगायत नाच प्रदर्शनीमा छन्।

सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आज आइतबारसम्म सञ्चालन भएको बताउनुभयो।

महोत्सवमा ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिएको छ। स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने महोत्सवको उद्देश्य छ। 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।